काठमाण्डौ। आज दिउँसोबाट सबै प्रदेशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैबाट देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ र प्रदेश २ का एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।

आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। यसका साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

वर्षा तथा हिमपातको सम्भावना रहेकाले हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भन्दै विभागले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।