काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा थोरै अंकको वृद्धिसँगै बजार बन्द भएको छ।

आज नेप्से परिसूचक ७.५३ अंकको बढोत्तरीसँगै १४३९.०६ को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.४६ अंकको सुधारसँगै ३००.९५ को उचाइमा पुगेको छ। 

नेप्से परिसूचक केही दिनदेखि ओरालो यात्रामा रहेकोमा आज अधिकांश कम्पनीहरुको सेयरमूल्यमा अत्याधिक खरिदचाप बढेका कारण उकालो लागेको हो। निकट समयमा सूचीकृत कम्पनीका वार्षिक प्रतिवेदन निष्कासन हुने र प्रतिफल सुरक्षित गर्नसमेत लगानीकर्ताले खरिददारी बढाउँदा बजारमा हरियाली छाएको हो। 

नेपाल धितोपत्र बोर्डबाट सीआईटीको सहायक कम्पनीलाई स्टक डिलरको अनुमति दिने काम अन्तिम चरणमा पुगेसँगै त्यसको प्रभाव बजारमा सकारात्मक परेको देखिन्छ। 

अर्कोतर्फ यो साता नेप्से परिसूचकले ओरालो यात्रा तय गर्दैगर्दा हिजो बुधबारदेखि हाइड्रोका सेयरधनीहरु मालामाल भइरहेका छन्। यही क्रमले आज पनि निरन्तरता पायो। हाइड्रोका सेयरहरु अंकित मूल्यभन्दा निकै कम भएका कारण जस्तोसुकै परिस्थितिमा पनि उत्पादन भई आम्दानी हुने सेक्टर भएका कारणले लगानीकर्ताको झुकाव तथा आकर्षण हाइड्रोमा रहेको देखिन्छ। 

आज नेप्से उपसमूहमा रहेका १२ वटै समूहमा हरियाली छाएको छ। 

यो दिन सबैभन्दा बढी जीवन बीमा समूहमा ५५.४९ अंक र निर्जीवन बीमा समूहमा ५०.४६ अंकको बढोत्तरी भएको छ। यसैगरी बैंकिङ समूहमा ५.०३ अंक, व्यापार समूहमा ३.७ अंक, होटेल्स समूहमा १३.८८ अंक, विकास बैंक समूहमा ०.९२ अंक, वित्त समूहमा ५.९५ अंक, उत्पादन तथा प्रशोधन समूहमा २७.१८ अंक, अन्य समूहमा ४.७ अंक, लघुवित्त समूहमा १५.०२ अंक र म्युचुअल फन्ड समूहमा ०.०७ अंकको वृद्धि भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १८९ कम्पनीका ३४ लाख ३० हजार ५३२ कित्ता सेयर १ अर्ब ३२ करोड २ लाख ६६ हजार ६७८ रुपैयाँमा कारोबार भएको छ। 

आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै २२ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार गर्यो। 

यो दिन नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ९५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ५ करोड ९ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ४ करोड ९७ लाख रुपैयाँ, एनआईसी एसिया लघुवित्तको ३ करोड ५६ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ४९ लाख रुपैयाँ, छिमेक लघुवित्तको ३ करोड ३२ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको २ करोड ९९ लाख रुपैयाँ र एनसीसी बैंकको २ करोड ६६ लाख रुपैयाँ बढीको कारोबार भयो। 

धेरै कमाउने र गुमाउनेहरु

आज हाइड्रोपावरका लगानीकर्ताले धेरै कमाउन सफल भए। यो दिन धेरै कमाउने १० कम्पनीहरुको सूचीमा ९ वटा त हाइड्रोपावर कम्पनीहरु नै पर्न सफल भएका छन्। 

आज सातवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। खानीखोला लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको छ भने आरम्भ चौतारी लघुवित्त, पञ्चकन्या माई हाइड्रोपावर, नेसनल हाइड्रोपावर कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी, राइराङ हाइड्रोपावर र आँखुखोला जलविद्युत्को सेयरमूल्यमा झन्डै १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।

यसैगरी युनियन हाइड्रोपावर र जोशी हाइड्रोपावरको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। घलेम्दी हाइड्रोको सेयरमूल्य पनि ९ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ। 

यो दिन घोडाघोडी लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लग्यो।