काठमाण्डौ । आइपीओ लगत्तै १५ प्रतिशत नगद लाभांशको घोषणाले समेत खासै नसुधारिएको शिवम् सिमेन्टको मूल्य केही दिनदेखि उकालो लाग्न थालेको छ । लगानीकर्ताहरु मरिहत्ते गर्दै शिवम् सिमेन्टको सेयर किन्ने दौडमा बसेपछि यो कम्पनीको मूल्य पछिल्ला ८ कारोबार दिनमा २६.३८ प्रतिशतले बढिसकेको छ । 

अप्रील २४ का दिन प्रतिकित्ता ३०७ रुपैयाँ रहेको शिवम् सिमेन्टको दोश्रो बजार कारोबार मूल्य बढेर सोमबार ३८८ पुगेको छ । यो दिन मात्रै शिवमको मूल्य प्रतिकित्तामा ३० रुपैयाँले वृद्धि भएको देखिएको छ । अप्रील २४ सहित ८ करोबार दिनमा यो कम्पनीको मूल्य ८१ रुपैयाँले बढिसकेको देखिन्छ । खरीद चाप अधिक रहेकोले मूल्य अझै माथि जाने सहजै अनुमान गर्न सकिन्छ।

सोमबार बजार बन्द हुने बेलाको मार्केट डेप्थमा शिवम् सिमेन्टको ४१ हजार बढी कित्ता सेयर खरीद अर्डरतर्फ पोस्ट भएको छ जबकि बिक्रीतर्फ ११ हजार भन्दा केही बढी कित्ता मात्र राखिएको छ । बिक्री भन्दा खरीद चाप अत्यधिक भएका कारण यो कम्पनीको मूल्य अझै बढ्ने आँकलन गर्न सकिन्छ । 

शिवम सिमेन्टले प्रिमियम मूल्यमा आइपीओ निश्कासन गरेपछि दोश्रो बजारमा कारोबार सुरु भएको थियो । यो कम्पनीको दोश्रो बजारमा प्रतिकित्ता ४१८ रुपैयाँमा पहिलो कारोबार भएको थियो । त्यसपछि मूल्य घट्दै आइपीओ निश्कासनको मूल्य ३०० रुपैयाँ नजिक पुगेको थियो । 

लामो समयसम्म नसुधारिएको शिवम् सिमेन्टको मूल्य उकालो लाग्न थालेपछि आइपीओ खरीद गरेका र नहतारी होल्ड गरेर बसेका लगानीकर्ता मालामाल बन्न थालेका छन् ।

किन बढ्दैछ  ?
दोश्रो बजारमा पछिल्लो समय सूचिकृत कम्पनीका बिषयमा चल्ने हल्लाले समेत मूल्य प्रभावित भइरहेको देखिन्छ । केही समयअघि केही बैंकको मूल्य समेत बिग मर्जरको हल्लाले अप्रत्यासित रुपमा बढेको थियो । 

शिवम् सिमेन्टको मूल्य तत्काल बढ्ने भने २ वटा कारण देखिएका छन् । 

एउटा हो, यो कम्पनीले निकै राम्रो विजिनेश योजना सार्वजनिक गर्दैछ भन्ने हल्ला । त्यस्तो विजिनेश योजनाका कारण कम्पनीको ग्रोथ निकै बढ्ने र त्यसबाट लगानीकर्ताले राम्रो रिटर्न पाउने धेरैको आशा छ। यो कम्पनीले तेश्रो त्रैमासमा निकै राम्रो प्रगति गरेको र यो वर्षका लागि राम्रो लाभांश बाँड्नसक्ने आँकलन गर्नेहरुले समेत सेयर खरिदारी बढाइरहेका छन् । 

शिवम्को मूल्य बढाउने अर्को कारण हो सरकारको नीति तथा कार्यक्रम । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सिमेन्टलाई प्रमुख निर्यातयोग्य वस्तुको रुपमा विकास गर्ने घोषणा गरेको छ । आइपीओ निश्कासन गरी दोश्रो बजारमा समेत कारोबार हुने शिवम् सिमेन्ट देशको एक मात्र उद्योग हो । यसकारण समेत सरकारको नीतिले शिवम् जस्ता सिमेन्ट उद्योगको ग्रोथमा उल्लेख्य प्रगति हुने अनुमान गर्दै लगानीकर्ताहरुले सेयर खरिदारी बढाइरहेका हुन् । 

कम्पनीको विशेषमा मूल्य लगातार बढी हल्लाले काम गरिरहेको बेला लगानीकर्ताहरुले भने बुद्धिमतापूर्वक लगानी निर्णय लिनुपर्दछ । आफैंले अध्ययन अनुसन्धान गरी र आफ्ना बलिया स्रोतहरुमार्फत कुरा बुझेर मात्र लगानी गर्नु उत्तम हुन्छ । बजारमा चल्ने फगत हल्लाको पछि दगुरेर कुनै कम्पनीको सेयर किन्ने वा बेच्ने निर्णय गरिए, त्यो आत्माघाती बन्नसक्छ ।