काठमाण्डौ । धितोपत्र बोर्डले आठ धितोपत्र दलाल व्यवसायीलाई शाखा कार्यालय स्थापनाका लागि आवश्यक पूर्वाधार तयार गर्न निर्देशन दिएको छ। 

सोमबार बोर्डले एक विज्ञप्ति जारी गरी यस्तो निर्देशन दिएको हो । 

यसवाट धितोपत्रको दोस्रो वजार सवै प्रदेश सदरमुकाममाहुनुका साथै आर्थिक रुपले सक्रिय जिल्ला/स्थानहरुमा वजार विकास हुँदै जाने भई कुल कारोवार संख्यामा समेत वृद्धि हुने वोर्डको अपेक्षा रहेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म शाखा कार्यालय खोल्न निवेदन दिएका व्यवसायीलाई काठमाण्डौ उपत्यकाबाहिरका हाल धितोपत्र दलाल व्यवसायीको शाखा नपुगेका आर्थिक रुपमा सक्रियताको आधारमा सम्भाव्य जिल्ला तथा स्थानमा शाखा खोल्ने अनुमति दिइएको बोर्डको प्रष्टोक्ति छ । 

बोर्डका अनुसार अब धितोपत्र दलाल व्यवसायीले महेन्द्रनगरको कञ्चनपुर, सुर्खेतको वीरेन्द्रनगर, दाङको घोराही र तुल्सीपुर, रुपन्देहीको भैरहवा र धनुषाको जनकपुरमा शाखा खोल्न सक्नेछन् । 

हाल काठमाण्डौ उपत्यकाबाहिर देशका १३ जिल्लाको ४१ स्थानबाट धितोपत्र दलाल व्यवसायीको शाखा कार्यालयमार्फत सेवा प्रदान भइरहेको छ । 

बोर्डले चालु आर्थिक वर्षको सुरुवातदेखि नै ब्रोकर शाखा स्थापनाका लागि आवेदनहरु प्राप्त भएका उल्लेख गर्दै बदलिँदो परिवेशमा दलाल व्यवसायी सम्बन्धी विद्यमान इजाजत र संचालन निीतिमा पुनरावलोकन गर्न, वाणिज्य वैंकको सहायक कम्पनी तथा धितोपत्र दलाल व्यवसायीले अर्को धितोपत्र दलाल व्यवसायीलाई प्राप्ति गर्ने र गाभ्ने/गाभिने सम्बन्धमा नीतिगत व्यवस्था गर्न धितोपत्र व्यवसायी (धितोपत्रदलाल, धितोपत्रव्यापारी तथावजार निर्माता) नियमावली, २०६४ संशोधन मस्यौदा तयार गर्ने काम पनि भइरहेको जनाएको छ । 

नियमावली मस्यौदापछि शाखा स्थापना तथा बिस्तारको कार्यलाई अझ व्यवस्थित बनाइने बोर्डको भनाई छ ।