-भक्तराज रसाइली
काठमाण्डौ । आगामी बैशाखदेखि अनिवार्य हुँदै गरेको सेयर खरीदकर्ताले अनिवार्य रुपमा स्थायी लेखा नम्बर(प्यान) लिनुपर्ने व्यवस्थाविरुद्ध लगानीकर्ताहरुले रोष प्रकट गरेका छन् ।
उनीहरुले बजार बढ्नै लाग्दा घटाउने उद्देश्यले प्यानको आतंक सिर्जना गरिएको र यो बेमौसमी बाजा भएको भन्दै हतारमा प्यानमा जान नहुने जिकिर समेत गरे ।
धितोपत्र बोर्डले सोमबार काठमाण्डौमा राखेको प्यान सम्बन्धी अन्तरक्रियामा सहभागी लगानीकर्ताहरुले बजारको सुधार र विकास चाहने हो भने प्यानको मुद्धालाई अहिले स्थगित गरी त्यसको पूर्व तयारीमा लाग्नुपर्ने र निश्चित समय दिएर मात्रै प्यानमा दर्ता हुन लगानीकर्तालाई आह्वान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकालले बजार घटाउन र बढाउन प्यानको बखेडा झिकिएको र खरिदकर्तालाई मात्र अनिवार्य जस्ता मुद्धाले शंका उब्जाएको आरोप लगाए । नाबालकले समेत कर तिरिरहेकोको क्षेत्र सेयर बजार नै भएको भन्दै बैशाख १ देखि सेयर खरिदमा प्यान अनिवार्य गरिए त्यो घातक हुने र प्यान अनिवार्य गरिनुपर्ने मुद्धा सुनियोजित रुपमा बाहिर ल्याइएको दाबी गरे ।
प्यानको रस्साकस्सीले धेरै त्रसित बनाइरहेकाले यसको गाँठो फुस्काउन आफू जहाँ पनि जानसक्ने उल्लेख गर्दै ढकालले यही विषयकै कारण बजारमा मनोवैज्ञानिक त्रास फैलाउने काम भएको र यसमा नियामक र सरकारको भूमिका संशयपूर्ण रहेको बताए ।
सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले मोफसलका नागरिकताधारी, जो काठमाण्डौमा बसेर लगानी गर्छन्, उनीहरुलाई प्यानको व्यवस्था अव्यवहारिका भएको टिप्पणी गरे । बेला न कुबेला प्यानको बेमौसमको बाजा बजाएकोले लगानीकर्ताहरुको आक्रोश सरकार स्वयंले समेत धान्न मुश्किल पर्ने उनले चेतावनी दिए ।
नेपाल इन्भेष्टर फोरमका नवनियुक्त अध्यक्ष छोटेलाल रौनियारले आम लगानीकर्ताहरुले स्वतस्फूर्त रुपमा प्यान स्वीकार्ने स्थिति हाललाई नभएको बताउँदै अहिले असंभव रहेको विषयलाई आतकिंत बनाउने हिसाबले ल्याइएकोमा आपत्ति जनाए ।
फोरमका उपाध्यक्ष तुलसीराम ढकालले पूँजीगत लाभकर नै अन्तिम कर भनी आउनुपर्नेमा जोड दिंदै बिदेशमा बसेका लगानीकर्ताहरुले प्यान लिन व्यवहारिक कठिनाइ भएको धारणा राखे ।
यसैगरी, नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रलले बजार घटिरहेका बेला प्यान र भ्याटको आतंक किन फैलाइन्छ ? भन्दै प्रश्न गरिन । कुनै पनि हालतमा प्यानलाई अनिवार्य गर्न नहुने भन्दै उनले यो विषयलाई पञ्चवर्षीय योजनामा समावेश गरी ५ वर्षपछि मात्र अनिवार्य गरिनुपर्नेमा जोड दिइन ।
घाटा प्रविष्टि गर्ने ठाउँ नभएको भन्दै धितोपत्र दलाल व्यवसायी नरेन्द्रराज सिजापतिले व्यक्तिगत र व्यवसायिक प्यानमा भएको अस्पष्टताको निराकरण गरिनुपर्नेमा जोड दिए ।
धितोपत्र बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौड्यालले प्यान लागू गरिँदा सम्पत्ति शुद्धीकरणमा सहयोग पुग्ने, सरकारलाई निर्णय गर्न सहज हुने र वित्तीय प्रणालीको महत्व बढ्ने दाबी गरे ।
बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले सरोकारावाला पक्षहरुबीचको छलफलले समस्या किटान भएको र समस्याहरुलाई जस्ताको तस्तै सरकारसमक्ष प्रस्तुत गरिने उल्लेख गर्दै भने–‘प्यान भनेको के हो ? यो हामीले पनि बुझेका छैनौं । हामी पनि सरकारले अह्राएको काम गर्ने मातहतका निकाय मात्र हौं ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago