काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज आइतबार बाँडफाँड गरिएको छ। 

धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलमा आईपीओ आज बिहान बाँडफाँड गरिएको हो।

आत्मनिर्भर लघुवित्तले गत फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो। संस्थाले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने १०० अंकित दरका कुल २ लाख ३ हजार ३८० कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। जसको १० प्रतिशतले हुन आउने २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरिसकिएको थियो। 

जसमा जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी १ लाख ६९ हजार ७५५ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउने व्यवस्था गरेको थियो।

आत्मनिर्भर लघुवित्तमा अन्तिम दिनसम्म कुल १५ लाख ३८ हजार ४६६ आवेदकबाट कुल १ करोड ६८ लाख १३ हजार १८० कित्ता सेयर खरिदका लागि आवेदन दिएका छन्। जसमा १५ लाख ३६ हजार २६३ आवेदकबाट परेको १ करोड ६७ लाख ८६ हजार ३० कित्ता सदर भएको छ भने २ हजार २०३ आवेदकबाट परेको २७ हजार १५० कित्ता बदर भएको छ। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी १६ हजार ९७६ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानीमध्ये ५ जनाले थप १–१ का दरले सेयर पाउनेछन्।

यो आईपीओमा सदर आवेदकमध्ये १५ लाख १९ हजार २८७ आवेदकको हात खाली भएको छ। 

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा आईपीओ जारी गर्ने संस्था र बिक्री प्रबन्धकको वेबसाइट तथा सीडीएससीको iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ।