– प्रकाश न्यौपाने

काठमाण्डौ । नेपालको सेयर बजारमा कारोबार हुनेमध्येकै सबैभन्दा धेरै बजार पुँजीकरण भएको समूह भनेको वाणिज्य बैंक हो। 

बलियो र भरपर्दो मानिएको वाणिज्य बैंक समूहमा रहेका अधिकांश बैंकहरुको सेयरमूल्य लगातारको गिरावटपछि अहिले निकै तल झरेको छ। यद्यपि लगानीकर्ता अझै वाणिज्य बैंकहरुको सेयरमा आकर्षित हुन सकेका छैनन्। 

लगातार बजार घट्नु कारणहरु नियामकबाट लगानीकर्ताको मनोबल बढाउने काम नहुनु र वाणिज्य बैंकहरुले दिने लाभांशले लगानीकर्ताको मन जित्न नक्सक्नु नै रहेको बजार जानकारहरु बताउँछन्। सेयरमूल्य प्रतिकित्ता २०० रुपैयाँभन्दा तल रहेका वाणिज्य बैंकहरुमध्ये प्राइम कमर्सियल, ग्लोबल आइएमई, कुमारी, सनराइज, प्रभु, सिटिजन्स, लक्ष्मी र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक पर्छन्। अन्य बैंकको मूल्य प्रतिकित्ता २०० रुपैयाँभन्दा माथि र ७०० रुपैयाँभन्दा तल छन्।

यसअघिको ३२०० को बुललाई हेर्ने हो भने २०७८ भदौ २ गतेका दिन नबिल बैंकको सेयरभाउ सबैभन्दा धेरै प्रतिकित्ता १४९० रुपैयाँ र एनआईसी एसिया बैंकको ९६९ रुपैयाँ रहेको थियो। त्यतिबेला अहिले २०० रुपैयाँभन्दा तल आएका वाणिज्य बैंकहरुको सेयरभाउ पनि ४०० रुपैयाँभन्दा माथि नै थिए। 

बजार जानकार वीरेन्द्र बिष्ट वाणिज्य बैंकहरुको सेयर २०० रुपैयाँभन्दा तल पाउनु भनेको लगानीका लागि ठूलो अवसर रहेको बताउँछन्। ‘अहिलेको अवस्थामा २०० रुपैयाँभन्दा तल आएका वाणिज्य बैंकहरुको बुक भ्यालु नै १५० रुपैयाँको आसपास छ’, उनले भने,  ‘यस्ता बैंकहरुमा लगानी गर्दा भविष्यमा राम्रो नाफा कमाउन सकिन्छ।’

त्यस्ता बैंकहरुको सेयर २–३ वर्ष होल्ड गर्न सकिए लाभांश पनि खान पाइने र बुल बजारमा बिक्री गरेर मनग्य नाफा कमाउन सकिने बिष्टको भनाइ छ। 

अर्का बजार जानकार प्रकाश रजौरे पनि २०६४ सालमा इन्डेक्स ३०० हुँदा पनि वाणिज्य बैंकहरुको सेयरभाउ अहिलेको भन्दा धेरै माथि रहेको बताउँछन्। अहिले वाणिज्य बैंकहरुको सेयरमा लगानी गर्नेलाई लाभांशबाट मुद्दति खाताको भन्दा बढी प्रतिफल पाउने उनको भनाइ छ। 

विशेषगरी २०० रुपैयाँभन्दा तल आएका वाणिज्य बैंकहरुमा लगानी गर्दा सुरक्षित पनि हुने र भविष्यमा राम्रो प्रतिफल पनि पाइने रजौरे बताउँछन्। ‘अब आउने दिनमा केही न केही सकारात्मक समाचार आउने र बजारले माथिको लय समात्नेछ’, उनले भने, ‘त्यसैले सुरक्षित मानिएको वाणिज्य बैंकहरुका सेयरमा लगानी गर्ने यो राम्रो अवसर पनि हो।’ 

यी वाणिज्य बैंकहरुको सेयरमूल्य २०० रुपैयाँभन्दा तल  (आजको दर)

  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंक: १८३.३० रुपैयाँ
  • कुमारी बैंकः १७१ रुपैयाँ
  • प्रभु बैंकः१६९.३० रुपैयाँ
  • लक्ष्मी बैंकः १७८ रुपैयाँ
  • सिटिजन्स बैंकः१७२.९० रुपैयाँ
  • सनराइज बैंकः १७६ रुपैयाँ
  • ग्लोबल आइएमई बैंकः १८१.१० रुपैयाँ
  • प्राइम बैंकः १९३ रुपैयाँ