काठमाण्डौ । नेपाल विज्ञापन संघ (आन)ले आफ्नो ३३औँ वार्षिकोत्सव सिर्जनशील र मर्यादित विज्ञापन बजार उद्योग व्यवसायको दरिलो आधार भन्ने नाराका साथ मनाएको छ।

आज जेठ ३० गते संघको केन्द्रीय कार्यालय शान्तिनगरमा प्रभातफेरीसहित रक्तदान कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको हो। 

शान्तिनगरबाट सुरु भएको प्रभातफेरी कार्यक्रम सहरका विभिन्न क्षेत्रलाई परिक्रमा गरी पुनः केन्द्रीय कार्यालय शान्तिनगरमा आई कोण सभामा परिणत भएको थियो। वार्षिकोत्सवमा आयोजित रक्तदान कार्यक्रममा ४६ पिन्ट रगत संकलन भएको संघले जनाएको छ। 

कार्यक्रमलाई संघका अध्यक्ष सोमप्रसाद धितालले सम्बोधन गर्दै सिर्जनशील र मर्यादित विज्ञापन बजारले नै सम्पूूर्ण सञ्चार माध्यम, विज्ञापनदाता र विज्ञापनकर्मीको हित हुने बताए। 

कार्यक्रमलाई संघका वरिष्ठ उपाध्यक्ष नारायण कुमार श्रेष्ठ र कार्यक्रम संयोजक कृष्णमुरारी लामिछानेले सम्बोधन गरेका थिए। कार्यक्रममा वरिष्ठ कलाकार, पत्रकार, विज्ञापनदाता र विज्ञापनकर्मीहरुको सहभागिता थियो।