काठमाण्डौ । अर्थमन्त्री डा। प्रकाशशरण महतले राजस्व संकलन गर्न जिम्मेवारी लिएका कर्मचारीलाई तदारुकता, इमान्दारिता र अनुशासन देखाउन निर्देशन दिएका छन्।

बिहीबार आन्तिरक राजश्व विभागका प्रमुखहरुको समीक्षा बैठकमा मन्त्री महतले यस्तो निर्देशन दिएका हुन्। उनले भने, ‘नेपाल सरकारको विभिन्न मन्त्रालय खर्चका लागि जिम्मेवार हुन्। सम्बन्धित मन्त्रालयमा विनियोजन भएको रकम प्रभाबकारी ढंगले खर्च होस् भन्ने अर्थ मन्त्रालयको अपेक्षा रहन्छ। राजस्व संकलनमा अर्थ मन्त्रालयको अहम् भूमिका रहेकोले सबै राजस्व संकलनको जिम्मा अर्थ मन्त्रालयको हो।’

‘विभिन्न परिस्ठितिजन्य अवस्थाले यस पटक राजस्व निक्कै कम संकलन हुन गएको हो। गत वर्ष संकलन भएको राजस्वसँग अहिले संकलन भएको राजस्व दाँज्दा पनि हाम्रो प्रगति निक्कै कम देखियो’, मन्त्री महतले भने, ‘यसको सम्पूर्ण दोष राजस्वका कर्मचारीको हो भनेर मैले भनेको छैन, राष्ट्रिय अर्थतन्त्रमा आएको संकुचन, केही वस्तुहरुको आयातमा लगाएको प्रतिबन्ध, पुँजीगत खर्चमा आएको ह्रास, चोरीपैठारीका कारणले राजश्वमा कमी आएको देखिन्छ।’

मन्त्री महतले यी तमाम पावन्दी र समस्याका बाबजुद आफूहरुको प्रयासमा अवश्य पनि कमी कतै छ भन्ने निष्कर्ष निकाल्न सकिने बताए। ‘हामी सबैले इमान्दारिताका साथ आ–आफ्नो जिम्मेवारी पूरा गर्ने बाहेक मसँग अर्को कुनै अजेन्डा छैन’, उनले भने, ‘तपाइँहरुको कार्यप्रगतिबाट नै तपाइँहरुको मूल्यांकन हुन्छ भन्ने कुरामा तपाइँहरु निश्चिन्त हुनुहोस्।’

‘काठमाण्डौलगायत राज्यका विभिन्न स्थानमा राजस्व संकलन गर्न आन्तरिक राजश्व कार्यालयहरु रहेका छन्। ती राजश्व कार्यालयहरुले राम्रोसँग आफ्नो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राख्नुभएन’, निर्देशन दिँदै मन्त्री महतले भने, ’, निर्देशन दिँदै मन्त्री महतले भने, ‘बजारको प्रभाबकारी अनुगमन, कारोबारको यथार्थ बिल लिनेदिने कार्यको बिकास, कर्मचारीमा नैतिकता र ईमान्दारिता तथा महालेखा परिक्षकको कार्यालयले प्रतिबेदनमा देखाएका कुराहरुलाई गंभिरता पूर्वक लिन जरुरी छ। यी सबै कुराहरुलाई सबै कार्यालय प्रमुखहरुले आत्मसाथ गरी लक्षित राजश्व असुल गर्ने कार्यमा आजैदेखि तनमनले लाग्नु हुने भन्ने पूर्ण अपेक्षा गरेको छु।’