काठमाण्डौ । दैनिक उपभोग्य सामानमा उल्लेख गरिएभन्दा बढी मूल्य लिएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई रु तीन लाख जरिवाना गरेको छ ।  

विभागको टोलीले आज गरेको अनुगमनका क्रममा टङ्गालस्थित भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तु ‘एमआरपी’ भन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएको थियो । 

भाटभटेनीले रु. १२० पर्ने लखमरीलाई रु. २२० मूल्य राखेर बिक्री गरिरहेको फेला परेपछि कारबाहीमा परेको हो । 

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको विभागले जनाएको छ । 

आपूर्ति प्रणाली बिग्रेपछि त्यसको फाइदा उठाउँदै केही व्यवसायीले कृत्रिम कालोबजारी समेत गरेका र यस्तो गलत काममा भाटभटेनीको समेत संलग्नता देखिएको विभागको भनाई छ । 

यसैगरी विभागले मूल्य सूची नराखी पसल सञ्चालन गरेको पाइएपछि कपनस्थित एमविटी खाद्य स्टोर्सलाई पनि रु एक लाख जरिवाना गरेको छ । 

लकडाउनको समयमा सरकारले जनतालाई उपभोग्य वस्तुको खरिदमा सहजीकरण गर्न भाटभटेनीलगायत ठूला पसल सञ्चालन गर्न अनुमति दिएको छ, तर तिनै ठूला पसलबाटै उपभोक्ता ठगिएपछि विभाग गम्भीर बनेको त्यहाँका एक अधिकारीले जानकारी दिए । 

विभागले लकडाउनको बेलामा समेत बजार अनुगमनलाई तीव्र पारिरहेको छ । यो क्रममा दैनिकजसो विभिन्न व्यापारिक फर्म तथा अत्यावश्यक सामाग्री बिक्रेताहरु कारबाहीमा परिरहेका छन् ।