काठमाण्डौ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाशमीबीच दुई पक्षीय हितका विषयमा छलफल भएको छ । 

राजदूत हाशमीलाई परिसंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष अग्रवालले समग्र आर्थिक विकासका लागि सरकार एवम् अन्य सरोकारवाला निकायहरुसँग परिसंघले सहकार्य गर्दै आएको बताए। 

उनले पर्यटन, चिया, कफीलगायतका माध्यमबाट पाकिस्तानसँगको व्यापार घाटा न्यूनीकरण गरिनुपर्नेमा जोड दिए । उनले नेपाल–पाकिस्तानबीच सिधा हवाई सम्पर्क पुनः जोड्न सकिए पर्यटन उद्योगका लागि महत्वपूर्ण हुने पनि सो क्रममा बताएका परिसंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

राजदूत हाशमीले नेपाली वस्तुहरु पाकिस्तान निर्यात बढाउन आवश्यक सहकार्य एवम् सहयोग गर्न प्रतिबद्ध रहेको बताए । उनले पाकिस्तानमा चियाको राम्रो बजार रहेकाले नेपाली चिया निर्यात गर्न सकिने सुझाव समेत दिएका विज्ञप्तिमा उल्लेख छ । 

पाकिस्तानी पर्यटकहरु नेपाल भ्रमण गर्न रुचाउने भन्दै उनले दुई देशबीच डिजिटल भुक्तानी हुने व्यवस्था गर्न समेत सुझाएका थिए।