काठमाण्डौ । नयाँ आर्थिक वर्षको पहिलो दिनको बजारले लगानीकर्तामा झिनो आशा जगाइदिए पनि बजारमा तत्काल उछाल आउने अवस्था देखिएको छैन । बजार परिसूचक ०.९ अंकले बढे पनि कारोबार रकम भने घटेको छ । शुक्रबार र शनिवारभरि नै सेयर कारोबार गर्दा भ्याट लाग्ने हल्लाका कारण लगानीकर्तामा निराशा छाएको थियो । आइतबार बिहानदेखि मात्रै भ्याट नलाग्ने खबर प्रवाह भए पनि धेरै लगानीकर्तालाई यसले सकारात्मक प्रभाव पार्न सकेन, फलस्वरुप बजार अपेक्षित बढ्न सकेन । बजारलाई सकारात्मक प्रभाव पार्ने कैयन बिषयहरुमा तत्काल सुधार नदेखिएका कारण समेत बजारले गति लिन नसकेको देखिएको छ ।
बजार विश्लेषकहरुको भनाईमा साउन लागेदेखि नै बैंक तथा बित्तीय संस्था तथा अन्य सूचिकृत कम्पनीहरुले समेत वर्षभरिको प्रगति विवरण सार्वजनिक गर्न थाल्ने र त्यसको आधारमा कुन कम्पनीले कति लाभांश दिन्छ भन्ने अनुमान गर्न सहज हुने भए पनि ब्याजदर, तरलता, सहज ऋण प्राप्ति लगायतका कुरामा सुधार नभए बजार तत्काल बढ्ने अवस्था देखिदैन ।
आइतबार तीन समूहको सूचकमा हरियो पोतियो भने पाँच समूहको सूचकमा रातो पोतियो । सबैभन्दा बढी बित्त समूह १०.९३ अंकको बढोत्तरी भयो । यस्तै, वाणिज्य बैंक समूह २.४१ र बिमा समूह १.४८ अंकले मात्र बढ्यो ।
होटल, जलविद्युत, विकास बैंक, उत्पादनमूलक र अन्य समूह क्रमशः ५.८२, ८.९१, ०.४४, ०.२१ र ५.५ अंकले घटे ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.३३ अंकले बढ्यो भने समग्र कारोबार सूचक फ्लोट इण्डेक्समा पनि ०.११ अंकको झिनो बढोत्तरी देखियो ।
धेरै कारोबार गर्ने कम्पनी
आर्थिक वर्षको पहिलो कारोबार दिन बजारमा १ सय ४९ कम्पनीका १२ लाख ९४ हजार २ सय ५९ कित्ता सेयर ६८ करोड १२ लाख ६२ हजार ५ सय २० रुपैयाँमा किनबेच भयो ।
सबैभन्दा बढी सूूर्य लाइफ इन्स्योरेन्सको २४ करोड बढीको संस्थापक सेयर किनबेच भयो । यस्तै, फरवार्ड माइक्रो फाइनान्सले ५ करोड ३५ लाख, प्राइम लाइफ इन्स्योरेन्सले ४ करोड ६५ लाख, सानिमा बैंकले २ करोड ३८ लाख, जनता बैंक नेपालले २ करोड २१ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड १६ लाख बढीको कारोबार गर्यो । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक, ३ स्थान बिमा कम्पनी र बाँकी एक स्थान विकास बैंक समूहले कब्जा गर्यो ।
धेरै कमाउने र गुमाउने कम्पनी
आर्थिक वर्षको पहिलो दिन पनि कुुबेर मर्चेन्ट फाइनान्सका लगानीकर्ता मालामाल भए । यो कम्पनीको सेयर मूल्य ९.४९ प्रतिशतले वृद्धि भयो । अरुण फाइनान्स र प्राइम लाइफ इन्स्योरेन्सको मूल्य ६ प्रतिशतको हाराहारीमा बढ्यो ।
रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ७.३७ प्रतिशतले घट्यो । यस्तै, दिव्यश्वरी हाइड्रोको मूल्य पनि ७ प्रतिशत भन्दा बढीले घट्न पुुग्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago