काठमाण्डौ। आन्तरिक राजस्व विभागले आयकरको दोस्रो किस्ताबापतको रकम चैत मसान्तभित्र बुझाउन ताकेता गरेको छ।

विभागले आज एक सूचना प्रकाशित यस्तो ताकेता गरेको हो। आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१)बमोजिम आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरुले करको विवरण र रकमको दोस्रो किस्ता चैत मसान्तभित्रै बुझाउनु पर्छ। 

आर्थिक वर्ष २०७९–८० को वार्षिक आयकर रकमको दोस्रो किस्ताबापतको ३० प्रतिशतसमेत गरी ७० प्रतिशतले हुन आउने रकम चैत महिनाभित्र दाखिला गर्नुपर्ने विभागले जनाएको छ। 

सोही कानुनी व्यवस्थाबमोजिम म्यादभित्र विवरण तथा कर दाखिला गर्न विभागले आग्रह गरेको छ।