– अनन्त्य सुन्दर 

काठमाण्डौ । उच्च व्यापार घाटा र विदेशी मुद्राको सञ्चिती घटेको भन्दै सरकारले १० प्रकारका विलासी वस्तुको आयातमा पूर्ण रुपमा बन्देज लगाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैशाख १३ गते नेपाल राजपत्रमा प्रकाशित गरेर १० प्रकारका वस्तुको आयातमा रोक लगाएको हो।

सरकारले हीरा, मोबाइल सेट, तास, सबै प्रकारका तयारी मदिरा, चुरोट, सुर्तीजन्य वस्तु, कुरकुरे, कुरमुरे, लेज गरी कुल १० वटा वस्तुको आयातमा रोक लगाएको छ। आगामी असार मसान्तसम्मका लागि यी वस्तु आयातमा रोक लगाइएको राजपत्रमा उल्लेख गरिएको छ।

नेपाल मदिरा व्यवसायी महासंघका महासचिव तारानाथ ढुंगाना घट्दो विदेशी मुद्राको सञ्चिती र अहिले मुलुकको आर्थिक अवस्थाका कारण सरकारले आयातमा लगाएको प्रतिबन्धमा व्यवसायीहरुले सहयोग गर्नुपर्ने बताउँछन्। ‘सरकारले विगतका दिनमा पनि अर्थतन्त्र अप्ठ्यारोमा पर्दा एलसी रोक्ने, आयातमा प्रतिबन्ध लगाउनेजस्ता कार्य गरेको थियो’, उनले भने, ‘त्यसैले यो अल्पकालीन निर्णय हो। सरकारलाई समस्या पर्दा सहयोग गर्नुपर्ने व्यवसायीको पनि दायित्व हुन्छ।’

नेपाल मदिरामा आत्मनिर्भर भइसकेको ढुंगानाको भनाइ छ। ‘नेपाली मदिराहरुले विदेशी मदिराहरुसँग प्रतिस्पर्धा गरी विभिन्न अवार्ड जित्न सफल पनि भइसकेका छन्’, उनले भने, ‘त्यसैले अब व्यवसायीहरु मदिरा आयातमा भन्दा पनि निर्यातमा केन्द्रित हुनुपर्छ।’

नेपाल विदेशी मदिरा नल्याए पनि यो व्यापार चल्ने ढुंगानाले बताए। ‘त्यसैले चुनावमा मदिरा खपत बढे पनि बजारमा मदिराको हाहाकार हुने स्थिति भने सिर्जना हुँदैन’, ढुंगानाले भने, ‘नेपालमा मदिरा बनाउनका लागि रसिया, चिन, भारत, डेनमार्कजस्ता मुलुकबाट कच्चा पदार्थ आयात गर्नुपर्छ। त्यसैले सरकारले कच्चा पदार्थ आयातमा भने रोक लगाउनु हुँदैन।’

मदिरा र मदिराजन्य पदार्थबाट मूल्य अभिवृद्धि कर, भन्सार र अन्तःशुल्क गरी सरकारले २० देखि २५ प्रतिशतसम्म राजस्व संकलन गर्ने गरेको छ। ‘त्यसैले सरकारले मदिरा व्यवसायी, उत्पादक र उद्योगीलाई मर्कामा नपर्ने गरी विभिन्न किसिमको सब्सिडिजहरु दिन आवश्यक छ’, उनले भने।  

‘सरकारले मदिरा आयातमा प्रतिबन्ध लगाउँदा वैधानिक कारोबार गरेका व्यवसायीलाई निरुत्साहित गर्नुका साथै विदेशी मदिरा आयात गर्ने व्यवसायीहरुलाई असर गर्ने देखिन्छ’, उनी भन्छन्, ‘खुला सीमा भएकाले अवैध मदिरा भित्रिन सक्छ। नेपालमा अहिले पनि ४० प्रतिशत अवैधानिक मदिरा बिक्री हुन्छ। त्यसैले वैधानिक कुरालाई अंकुश लगाउँदा अवैध कुरा बढ्ने भएकाले सरकारले संयन्त्र बलियो बनाएर अवैध मदिराको कारोबार नियन्त्रण गर्न आवश्यक छ।’