काठमाण्डौ । बैंकहरुमा कर्जाको माग बिस्तारै बढ्न थालेपछि त्यसको असर आयात व्यापारमा पनि देखिन थालेको छ । जसका कारण भन्सार राजश्व संकलन दर पनि बढ्न थालेको छ ।
अघिल्लो वर्षको तुलनामा साउन र भदौ (भदौ १८ गतेसम्म)मा भन्सार संकलन दरमा सुधारको संकेत देखिएको हो ।
मुलुकले आर्थिक वर्षभरि उठाउने कुल भन्सार राजश्वमध्ये ४० प्रतिशतको योगदान गर्ने वीरगञ्ज भन्सारको तथ्याङ्कले यस्तो देखाएको हो ।
वीरगञ्ज भन्सारका प्रमुख डिलाराम पन्थीकाअनुसार गत आर्थिक वर्षको असोजदेखि फागुनसम्मको भन्सार संकलन दर चौपट बनेको थियो । यो अवस्थासँग दाजेर हेर्दा वीरगञ्ज भन्सारको साउन र भदौंको राजश्व संकलन दर सन्तोषजनक रहेको छ ।
गत आर्थिक वर्षको वीरगञ्ज भन्सारले लक्ष्यको ६०.२ प्रतिशत मात्र राजश्व संकलन गर्न सकेको थियो । तर, चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यको ७६ प्रतिशतमाथि भन्सार उठेको छ ।
पन्थीकाअनुसार भदौ १८ गतेसम्ममा ८ अर्बभन्दा बढीको भन्सार राजश्व संकलन भइसकेको छ । यही ट्रेण्ड महिनाको अन्तिमसम्म कायम रहेमा लक्ष्यको ७० प्रतिशतभन्दा बढी नै राजश्व संकलन हुने देखिन्छ ।
साउन महिनामा १५ अर्ब भन्सार राजश्व उठाउने लक्ष्य रहेकोमा १२ अर्ब हाराहारीमा उठ्यो । भदौमा १९ अर्बको लक्ष्य रहेकोमा भदौ अन्तिमसम्म १४ अर्ब हाराहारी पुग्ने देखिएको छ ।
‘चाडपर्वको मौसम सुरु भएकोले समेत भन्सार संकलन दरमा प्रगति हुन थालेको देखिएको छ ।’ पन्थीले बिजशालासँग भने–‘भन्सार राजश्व संकलन दर उल्लेख्य बढिहालेको होइन, तर सकारात्मक सुरुवात भएको चाहिँ मान्न सकिन्छ ।’
गत वर्ष भन्सार राजश्वमा सवारी साधनको योगदान अघिल्ला वर्षहरुको तुलनामा ८० प्रतिशतले घटेको थियो । यो वर्ष भदौदेखि सवारी साधनबाट हुने भन्सार राजश्व संकलन बढ्न थालेको देखिन्छ ।
‘पेट्रोलियम पदार्थबाट आउने राजश्वमा गत वर्षको तुलनामा खासै सुधार देखिएको छैन ।’ पन्थीले भने–‘उपभोग्य सामान आयात चाहिँ बढेको छ । यसले समेत भन्सारमा राम्रै योगदान गरिरहेको छ ।’
वीरगञ्ज भन्सारले यो आर्थिक वर्षमा २५१ अर्ब भन्सार राजश्व उठाउने लक्ष्य लिएको छ । १९० अर्ब हाराहारीमा संकलन हुने र त्यो लक्ष्यको ७५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।
‘यो वर्ष गत वर्षको जस्तो सकसपूर्ण अवस्था हुन्छ जस्तो लागेको छैन ।’ पन्थीले भने–‘सुरुवाती ट्रेण्डहरु पनि राम्रा छन् । यसपटक राम्रै हुन्छ होला ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19