काठमाण्डौ । भिजन लुम्बिनी उर्जा कम्पनी लिमीटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र विदेशमा काम गर्ने नेपालीहरुका लागि आइपीओ निश्कासन गरेको छ । 

आजदेखि निश्कासन भएको आइपीओमा आगामी असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । 

आयोजना प्रभावित कास्की जिल्लाबासी तथा वैदेशिक रोजागारीमा रहेका नेपालीका लागि खुलाइएको यो कम्पनीको आइपीओमा कास्कीबासीले ढिलोमा असोज १७ गतेसम्म आवेदन दिन सक्नेछन् । तर, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पनि असोज २ गते नै आवेदन दिन पाउने अन्तिम मिति हो । 

यो कम्पनीको जारी पूँजी १ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । यसैको १० प्रतिशत अर्थात १९ लाख १२ हजार ५०० कित्ता सेयर आयोजना प्रभावितका लागि छुट्याइएको हो । 

सर्वसाधारणका लागि पनि जारी पूँजीको १० प्रतिशतले हुन आउने १९ लाख १२ हजार ५०० कित्ता नै आइपीओ पछि जारी हुनेछ । यसमध्ये १ लाख ९१ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको हो । 

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० देखि अधिकतम ३ लाख ८० हजार कित्ता खरीदका लागि आवेदन दिन पाउनेछन् । 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको हकमा भने न्यूनतम १० देखि अधिकतम १९ हजार १२० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । 

मुक्तिनाथ क्यापिटल लिमीटेड यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक रहेको छ । 

भिजन लुम्बिनी उर्जा कम्पनीले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका क्षेत्रमा २५ मेगावाटको सेती नादी हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।