काठमाण्डौ । व्यवस्थापिका संसदको बैठकले बस्तु बिनिमय बजार(कमोडिटी मार्केट)लाई नियमन गर्ने विधेयक पारित गरेको छ । 

‘बस्तु विनिमय बजारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७३’  पारित भएसँगै अब कमोडिटी मार्केट समेत व्यवस्थित हुने अपेक्षा गरिएको छ । 

अब कमोडिटी बजार संचालनका लागि इच्छुक कम्पनीले धितोपत्र बोर्ड समक्ष आवेदन दिनुपर्नेछ भने त्यस्तो कम्पनीको चुक्तापूँजी ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरिएको छ । यस्तै, स्वदेशी लगानीकर्ताले ५ प्रतिशत भन्दा बढी सेयरको स्वामित्व लिन नपाउने व्यवस्था समेत गरिएको छ । 

तर, रणनीति साझेदारको रुपमा रहने विदेशी कम्पनीको भने बढीमा ५१ प्रतिशतसम्म सेयर स्वामित्व हुनसक्ने प्रावधान राखिएको छ । 

कमोडिटी बजार सञ्चालकहरुले कारोबार अनुमति पाएको १८० दिनभित्र कारोबार सुरु गरिसक्नुपर्ने र पूर्वाधार विकास अनिवार्य हुनुपर्ने व्यवस्था समेत गरिएको छ । पुराना संस्थाहरुले समेत नयाँ प्रावधान अनुसार बोर्डसँग अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । 

यस्तै, धितोपत्र बोर्डले ऐन अन्तरगत दिएको निर्देशन नमानेको अवस्थामा समेत कम्पनीहरुले ५० लाख रुपैयाँसम्म जरिवाना तिनुपर्ने र निर्देशन नमानेकै कारण लगानीकर्तालाई हानी पुगे जरिवाना सहित लगानीकर्तालाई परेको नोक्सान बराबरको रकम समेत क्षतिपूर्तिको रुपमा दिनुपर्ने व्यवस्था गरिएको छ । झुटो कारोबार गरेमा, कारोबारलाई प्रभाव पार्ने काम गरेमा बिगो अनुसार र बिगो नखुले अधिकत्तम ५ लाख र ५ वर्षसम्म जेल सजायको व्यवस्था समेत विधेयकले गरेको छ ।