काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख बढी कित्ता सेयर आज माघ १३ गतेबाट लिलामीमा राखिएको छ। 

आरएमडीसी लघुवित्तको ३ लाख ६५ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। लिलामीमा राखिएको सेयरमा विद्यमान संस्थापक वा जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। 

लिलामीमा राखिएको सेयरको न्यूनतम प्रतिकित्ता ४९४ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन पेस गर्नुपर्नेछ। अधिकतममा भने कुनै हद तोकिएको छैन। 

लगानीकर्ताले काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति यही माघ २० गते बैंकिङ समयसम्म तोकिएको छ।