काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयरका लागि आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सोमबार समायोजन गरेको छ।

नेप्सेले सेयरमूल्य समायोजन गर्दै आरएमडीसी लघुवित्तको प्रतिकित्ता ८६१ रुपैयाँ कायम गरेको छ। यसअघि यो लघुवित्तको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ९९० रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै यो लघुवित्तको सेयर कारोबारमा आउने गरेको छ। 

गत आर्थिक वर्षको मुनाफाबाट संस्थाले चुक्तापुँजी ८९ करोड ९३ लाख २३ हजार ४२५ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १७ करोड ९८ लाख ६४ हजार ६८५ रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुने आउने १३ करोड ४८ लाख ९८ हजार ५१३.७५ रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने ४ करोड ४९ लाख ६६ हजार १७१.२५ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्। 

प्रस्तावित लाभांश संस्थाको आउँदो मंसिर २२ गते हुने २२ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्।

लाभांश पारित र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले आज मंसिर ८ गतेदेखि मंसिर २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो मंसिर ७ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।