काठमाण्डौ । र्यापिड डाइग्नोष्टि टेस्ट(आरडिटी) विधिबाट नमूना परीक्षण गर्दा केही जिल्लाका करिब आधादर्जन व्यक्तिको पोजिटिभ रिपोर्ट आए पनि उनीहरुको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यो विषयमा बिहीबार नियमित प्रेस ब्रिफिङको क्रममा बताएका हुन् ।
पछिल्लो समय आरडिटीबाट नमूना परीक्षणको कामलाई व्यापक बनाई ६९ वटा जिल्लासम्म बिस्तार गरिएपछि जिल्लाहरुमा पोजिटिभ रिपोर्ट आउनेको संख्या बढिरहेको छ । तर, आरडिटीबाट पोजिटिभ रिपोर्ट आउँदैमा अत्तालिनुपर्ने अवस्था नरहने विज्ञहरुले बताउँदै आएका छन् ।
पछिल्लो पटक विभिन्न जिल्लामा करिब आधा दर्जनको आरडिटी रिपोर्ट पोजिटिभ आएको थियो । तर, तिनीहरुको पीसीआरबाट थ्रोट स्वाबको नमूना परीक्षण गर्दा भने कसैको पनि रिपोर्ट पोजिटिभ नआएको डा. देवकोटाले जानकारी दिए ।
उनका अनुसार बिहीबार पनि बुधबार झै संक्रमितको संख्या थपिएन । नेपालमा हाल कोभिड १९ संक्रमितको संख्या १६ हो । जसमध्ये १ जना उपचारपछि फर्किसकेका छन् भने बाँकी १५ जना देशका विभिन्न क्षेत्रका अस्पतालहरुका आइसोलेसनमा बसेका छन् ।
प्रवक्ता डा. देवकोटाका अनुसार सरकारले ३ कोरोना संक्रमित फेला परेको वीरगञ्जको छपकैया क्षेत्रमा ४०० को आरडिटी परीक्षण गरेको थियो । ती सबैको रिपोर्ट पनि नेगेटिभ आएको छ ।
देवकोटाका अनुसार देशका ८ जिल्लामा अझै पनि आरडिटी टेस्ट सुरु भइसकेको छैन । अब ताप्लेजुंग, इलाम, ओखलढुंगा, सोलुखुम्बु, खोटांग, मनांग, डोल्पा, रुकुमपूर्वसहित ८ जिल्लामा पनि छिट्टै आरडिटी टेस्टको व्यवस्था गरिने उनले जानकारी दिएका छन् । बाँकी सबै जिल्लामा आरडिटी परीक्षणको काम सुरु भइसकेको छ ।
हालसम्म आरडिटीबाट १२ हजार १९२ वटा परीक्षण भइसकेको छ । गत २४ घण्टामाम ३ हजार २६३ वटा आरडिटी परीक्षण भएका छन् ।
यस्तै हालसम्म पीसीआर विधिबाट ७ हजार २४० वटा नमूना परीक्षण भइसकेको छ । पछिल्लो २४ घण्टामा ३६९ नमूनाको परीक्षण भएको छ । दुवै विधिबाट भएका हालसम्मको परीक्षण संख्या १९ हजार ४३२ रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago