– प्रकाश न्यौपाने

काठमाण्डौ । सेयर बजारमा लगानी सधैँ जोखिमपूर्ण हुन्छ। सेयर बजारमा विना अध्ययन पस्नेहरु थुप्रै फसेका पनि छन्। तर, अध्ययन गरेर लगानी रणनीति बनाएर लाग्ने हो भने कम समयमै मनग्य कमाउन पनि सकिन्छ। 

कम्पनीहरुका आधारभूत पक्ष र प्राविधिक पक्ष केलाएरमात्रै लगानी गर्न बजार जानकारहरुले सुझाव दिने गरेका छन्। बजार नियामकहरुले पनि बेला–बेला सूचना निकाले अरुले भनेको भरमा नपरी आफ्नो स्वविवेक प्रयोग गरी बजारमा आधारभूत र प्राविधिक पक्ष अध्ययन गरेरमात्रै लगानी गर्न आग्रह गर्दै आएका छन्। 

नेपालको सेयर बजार अझै परिपक्व हुन सकेको छैन। लगानीकर्ताहरुमा अझै बजारसम्बन्धी सचेतना जगाउन आवश्यक रहेको देखिन्छ। तर, नियामक निकायहरु सचेतना जगाउने विषयमा चुकेको देखिन्छ।

नेपालको सेयर बजारले पछिल्लो समय प्राविधिक रुपमा फड्को मारेको छ। ल्याप्चे युगबाट डिजिटल युगमा अगाडि बढ्दैछ नेपालको सेयर बजार। 

हातहातबाट सेयरको कारोबार हुन थालेको छ। आउने दिनमा अझै छिटो–छरितो तरिकाबाट काम हुनेमा आशा गर्न सकिन्छ। तर अझै पनि नियामक निकायहरुले बजारमा हुने गरेका चलखेल र बढ्दै गएका विकृति रोक्न भने असफल हुँदै आएको देखिन्छ। जसका कारण सोझा लगानीकर्ताको लगानी फस्ने गरेको छ। 

लामो समयदेखि सेयर बजारमा सक्रिय विपीन लुइँटेल पनि तिनै पीडित लगानीकर्तामध्येका एक हुन्। 

लुइँटेल २०६८ सालमा आईपीओ भरेर प्राथमिक बजारमा प्रवेश गरेका थिए। सोही वर्षबाट दोस्रो बजारमा पनि कारोबार थालेका लुइँटेलले सुरु–सुरुमा राम्रै नाफा कमाउन सफल पनि भए। ‘नबिल बैंक र एनएमबि बैंकको सेयरमा गरेको लगानीबाट राम्रो नाफा भयो’, उनले सुनाए। 

राष्ट्रिय बीमा कम्पनी लिमिटेड (आरबीसीएल)को सेयर किनेपछि भने चुर्लुम्मै डुबाएको लुइँटेलको भनाइ छ। ‘१८८१ को बुल बजार झरेर १६०० तिर आउँदा आरबीसीएलको सेयर प्रतिकित्ता १५ हजार रुपैयाँमा कारोबार भइराखेको थियो’, उनले भने, ‘सरकारी स्वामित्वमा रहेको कम्पनी र राम्रो आम्दानी गरेर रिजर्भ राम्रो राखेकोले बजारमा १२० प्रतिशत बोनस सेयर दिने चर्चा चलिरहेको थियो, राम्रै नाफा कमाउन सकिएला भनेर मैले पनि बैंकबाट ऋण लिएर १५ हजार रुपैयाँका दरले ७०० कित्ता किनेँ। तर, नबुझी लगानी गर्दा अहिले पछुताउनु परेको छ।’

बजार झरेर ११०० सम्म आयो। ‘आरबीसीएलको सेयरभाउ घटेर ७ हजार रुपैयाँभन्दा तल आयो’, लुइँटेल भन्छन्, ‘त्यतिबेला घाटा खाएर बेच्ने कुरै भएन।’ 

लामो समयको बियरिसपछि बजार हालसम्मकै उच्च विन्दु ३२०० पुग्यो। ‘तर, आरबीसीएलको सेयर बेचेर बैंकको साँवा–ब्याज तिर्दा पनि नाफा नहुने देखियो, अनि मैले सेयर बेचिनँ’, उनले भने, ‘त्यसपछि कम्पनीले बोनस सेयर देला र बजार पनि अझै माथि जाला भन्ने आशमा बस्दाबस्दै यतिबेला बैंकको ऋण र ब्याजले रुनु न हाँस्नु भएको छ।’

आशैआशमा बस्दा लगानीको ७० प्रतिशत रकम बैंकले लगिसकेको लुइँटेल बताउँछन्। ‘राम्रै कमाउने आशमा परिवारलाई नभनी किनेको सेयरले घरको न घाटको बनायो’, उनले भने। 

सरकारको मातहतमा रहेको आरबीसीएलको वर्षौंदेखि वार्षिक साधारणसभा हुन सकेको छैन। आर्थिक लेखापरीक्षण (अडिट) पनि हुन सकेको छैन। ‘लेखापरीक्षण नहुँदा वर्षौंदेखि साधारणसभा पनि हुन नसक्नु यो कम्पनी भ्रष्टाचारको अखडा बनेको प्रस्ट बुझ्न सकिन्छ’, उनले भने, ‘यो कम्पनीले धेरै लगानीकर्ताको उठीबास लगाएको छ।’

यस विषयमा सम्बन्धित निकायले तत्काल चासो दिनुपर्ने लुइँटेलको माग छ। ‘तत्काल कम्पनीको अडिट गरी वार्षिक साधारणसभा गर्ने बाटो खुलाउनुपर्छ र लगानीकर्तालाई लगानीअनुसारको प्रतिफल दिनुपर्छ’, उनले भने।