काठमाण्डौ । सरकारले यो वर्षको आर्थिक वृद्धिदरको लक्ष्य भेट्याउन असफल भएको छ। 

सरकारले चालु वर्ष ७ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेको छ। तर यो वर्ष ५.८४ प्रतिशत आर्थिक वृद्धि हासिल हुने केन्द्रीय तथ्यांकले जनाएको छ। 

यसपालि कोभिडको प्रभाव कायम रहँदा सरकारले पोहोरको प्रभावका कारण उच्च वृद्धि हुन्छ भनेर लक्ष्य निर्धारण गरेको थियो। तर बेमौसमी पानी परेर कृषि उत्पादन घट्यो भने कोभिडका कारण सुरुवाती महिना ठूलो आर्थिक कारोबार भएन। सोही कारणले सरकारले यो वर्षको आर्थिक वृद्धिको लक्ष्य भेट्याउन असफल भएको हो। 

‘हालसम्म पनि विश्वमा  कोभिड १९ को महामारीको अवस्था विद्यमान रहेको छ। कोभिड १९ को असरलाई न्यून गर्नका लागि अवलम्बन गरिएको आन्तरिक तथा बाह्य प्रयासहरूको प्रभाव हाम्रो अर्थतन्त्रमा पनि पर्ने नै देखिन्छ’, विभागद्वारा जारी प्रतिवेदनमा भनिएको छ, ‘तथापि हालका दिनहरूमा नेपालमा कोभिड १९ को प्रभावको अवस्था साह्रै न्यून रहेको र यस आर्थिक वर्षको अन्तिमसम्म नै यसको नकारात्मक असर नरहने साथै आर्थिक क्रियाकलापहरू सामान्य किसिमले सन्चालन हुने विश्वास गरिएको  छ।

यो वर्ष बैंकहरुले दिएको ऋण उत्पादन वृद्धिभन्दा आयातमा बढी गएको थियो। अर्कोतर्फ सरकारले विकास खर्च गर्न नसक्दा पनि आर्थिक वृद्धि प्रभावित हुन पुगेको विभागले जनाएको छ। 

आव २०७८/७९ मा केही प्रमुख आर्थिक सूचकहरूको अवस्था 

  • • कुल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ताको मूल्यमा  ५.८४ प्रतिशत ।
  • कुल गार्हस्थ्य उत्पादन वृद्धिदर आधारभूत मूल्यमा  ५.४९ प्रतिशत ।
  • चालु मूल्य अनुसार कुल उत्पादन आधारभूत मूल्यमा रु. ७३ खर्व ५६ अरब ६१ करोड ।
  • चालु मूल्य अनुसार कुल मध्यवर्ती उपभोग उपभोक्ताको मूल्यमा रु. ३२ खर्व ५१ अरब ६ करोड ।
  • चालु मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा रु.  ४१ खर्व ५ अरब ५४ करोड ।
  • चालु मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु.  ४८ खर्व ५१ अरब ६३ करोड ।
  • चालु मूल्यमा कुल स्थिर पुँजी निर्माण रु.  १४ खर्व २५ अरब ८ करोड (कुल गार्हस्थ्य उत्पादनको २९.३७ प्रतिशत)।
  • चालु मूल्यमा अन्तिम उपभोग खर्च  रु.  ४४ खर्व १ अरब ६७ करोड (कुल गार्हस्थ्य उत्पादनको ९०.७३ प्रतिशत)।
  • चालु मूल्यमा वस्तु तथा सेवा निर्यात   रु.  ३ खर्व २० अरब ७१ करोड (कुल गार्हस्थ्य उत्पादनको  ६.६१ प्रतिशत)।
  • चालु मूल्यमा वस्तु तथा सेवा अयात  रु.  १८ खर्व २० अरब ८२ करोड (कुल गार्हस्थ्य उत्पादनको  ४१.४९ प्रतिशत)।
  • चालु मूल्यमा कुल राष्ट्रिय वचत कुल गार्हस्थ्य उत्पादनको  ३१.९५ प्रतिशत।
  • विप्रेषण रु.  ९ खर्व ६१ अरब ७ करोड  (कुल गार्हस्थ्य उत्पादनको  १९.८१ प्रतिशत)।
  • प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन रु १,६४,५९८ अर्थात १,३७२ यु.एस डलर।
  • प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन रु १,६५,६४९ अर्थात १,३८१ यु.एस डलर।