काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक स्थायीत्वका लागि ब्याजदरमा लकअप प्रणाली लागू गर्नुपर्ने बतनाएका छन्। 

दोलखा चेम्बरको आयोजनामा भएको महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले ब्याजदर अस्थिर हुँदा ऋणीहरु मर्कामा परेको र लगानीको वातावरण सिर्जना हुन नसकेको बताए। ‘त्यसैले ब्याजदरमा लकअप प्रणाली लागू गर्नुपर्छ’, उनले भने।

उद्योग–व्यवसाय सञ्चालन, घर–जग्गा, कृषिलगायत विभिन्न प्रयोजनमा ऋण लिने प्रक्रियामा सुरुआती चरणमै निश्चित ब्याजदर कायम गर्ने र पछि फेरबदल नहुने हो भने वित्तीय क्षेत्रमा अस्थिरता नआउने मल्लको भनाइ थियो। बैंक तथा वित्तीय संस्थामा भएको उच्च ब्याजदरका कारण व्यावसायिक गतिविधि ठप्पप्रायः भएको उनले बताए। ‘ब्याजदर १५–१६ प्रतिशतसम्म कायम छ’, उनले भने, ‘ऋण लिएर व्यवसाय गर्ने वातावरण छैन, उद्योगी–व्यवासायी पलायन हुने अवस्था सिर्जना भएको छ।’

बैंक तथा वित्तीय संस्थाले आधारदरमा लिने प्रिमियम उच्च हुँदा पनि ऋणीहरु मर्कामा परेको मल्लले बताए। ‘आर्थिक विकास र समृद्धिका लागि वित्तीय स्थायीत्व र लगानीको वातावरण सिर्जना गर्न आवश्यक छ’, उनले भने। 

अध्यक्ष मल्लले उद्योग तथा साना व्यवसायमा सामूहिक लगानीमार्फत नयाँ रोजगारी सिर्जना गर्नका लागि निजी क्षेत्र र सरकारबीच हातेमालो गर्न आवश्यक रहेको औँल्याए। उनले कृषि, पर्यटन, एवं साना उद्योगको विकास राज्यको प्राथमिकतामा पर्नुपर्ने बताए। 

अर्को प्रसंगमा अध्यक्ष मल्लले दोलखा कृषि उत्पादनका दृष्टिकोणले अग्रणी भए पनि अपेक्षित लाभ प्राप्त हुन नसकेको बताए। दोलखामा सामूहिक खेती प्रणालीमार्फत उत्पादन वृद्धि गर्न सकिने उनको भनाइ थियो। 

जिल्लामा उत्पादित कृषिउपजहरुको बजारीकरणका लागि दोलखा चेम्बर अफ कमर्सले समन्वय गर्ने पनि मल्ले बताए।