– रामचन्द्र संघई
उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिएको छ। महासंघको नेतृत्वका लागि प्रतिस्पर्धाको दौड सुरु भएको छ। चैत २८ र २९ गते काठमाण्डौमा आयोजना हुने महासंघको साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल अध्यक्ष बन्नुहुनेछ। साधारणसभाबाट वरिष्ठ उपाध्यक्षसहित नयाँ कार्यसमिति चयन हुनेछ।
एफएनसीसीआईको चुनाव नजिकिएसँगै मुलुकमा विद्यमान आर्थिक संकट, उद्योग–व्यवसाय क्षेत्रले भाग्नुपरेका समस्या र त्यसको समाधान, उद्योगमैत्री वातावरणको निर्माण, महासंघको भावि नीति तथा रणनीति निर्माणमा गरिने पैरवीलगायतका विषयमा समेत छलफलले तीव्रता पाएको छ। लगानी, उत्पादकत्व, रोजगारी, पर्यटनलगायत सबै क्षेत्रमा रहेका समस्या र अर्थतन्त्रमा देखिएको मन्दीका विषयमा अहिले सबैको ध्यान केन्द्रित देखिन्छ।
बजेटको अर्धवार्षिक समीक्षा भइरहँदा सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन नसक्ने अवस्था आउनु, राजस्व संकलनको लक्ष्य १५ प्रतिशतले र समग्र बजेटको आकार साँढे २ खर्बले घट्नु अर्थतन्त्रका लागि शुभ संकेत पक्कै होइन। यस्तो बेलामा हामी निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयन गर्ने तरखरमा छौँ। हाम्रो ध्यान नेतृत्व चयन सँगसँगै आर्थिक सुधारका योजना, नीति र रणनीतितर्फ समेत केन्द्रित हुनुपर्ने आवश्यकता रहेको छ।
नेपाल उद्योग वाणिज्य महासंघ साढे पाँच दशक लामोे गौरवशाली इतिहास बोकेको ऐतिहासिक संस्था हो। मुलुकका सम्पूर्ण उद्यमी व्यवसायीहरुको प्रतिनिधिमूलक, अविभावकीय एवं भरोषायोग्य संस्थाका रुपमा महासंघ स्थापित भएको विदितै छ। २०२२ सालमा यो संघ स्थापित हुँदाको तुलनामा नेपालको अर्थतन्त्र अहिले झन्डै १०० गुणाले वृद्धि भएर रु. ४५ खर्ब पुगेको छ। त्यतिबेला केही हजारको संख्यामा रहेका उद्यमी व्यवसायीको संख्या अहिले १० लाख हाराहारी पुगेको छ। मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको लगानी, भूमिका र योगदानको हिस्सा झन्डै ८० प्रतिशतको हाराहारी पुगेको अनुमान छ। यो विस्तारलाई सघाउन महासंघको यसअघिका नेतृत्वले निरन्तर उल्लेख्य योगदान गरेको तथ्य हाम्रा अगाडि छर्लङ छ।
महासंघलाई आजको अवस्थासम्म ल्याइपुर्याउने पूर्वअध्यक्ष तथा अग्रज सबैको योगदान अविस्मरणीय रहेको छ। महासंघलाई सबै उद्यमी–व्यवसायीको गैरराजनीतिक साझा राष्ट्रिय संस्थाका रुपमा विकसित गर्ने उद्देश्यले अध्यक्षको प्रत्यक्ष निर्वाचन नगर्ने र अघिल्लो कार्यकालमा निर्वाचित वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्षमा पदोन्नति हुने वैधानिक पद्धति हामीले बसालेका छौँ। यो पद्धतिलाई संस्थागत र दीगो बनाउने र क्रमशः वरिष्ठ उपाध्यक्षलगायतका पदमा पनि सर्वसम्मतिको अभ्यासलाई विस्तार गर्दै लैजानु श्रेयस्कर हुनेछ। राजनीतिक विचारधाराहरुको छायाले महासंघले भोगेका विगतका तीता अनुभवहरुबाट पाठ सिकेर ढिलो वा चाडो सहमतीय पद्धतिलाई अवलम्बन गर्नु वाञ्छनीय हुनेछ। निर्वाचनभन्दा सहमतिकै बाटोबाट अघि बढ्न सकेमा सुनमा सुगन्ध हुने छ। निर्वाचन नै भएको खण्डमा पनि त्यसलाई थप मर्यादित र विवाद रहित बनाउने जिम्मेवारी हामी सबैको हो।
नेपाल उद्योग वाणिज्य महासंघको बिरासतलाई अझ उचो राख्न तथा मुलुकभरका उद्यम व्यवसायको विस्तार र संरक्षणमा योगदान गर्न थप सक्षम बनाउन जरुरी देखिन्छ। आज सबैले खोजेको समृद्धिको चाहना पूरा गर्न महासंघले सरकारको सहकार्यमा मुलुकको आर्थिक विकासको समग्र प्रयास अघि बढाउनु आवश्यक छ।
विभिन्न संकटका बीचमा पनि उद्योगी व्यवसायीको हक, हित प्रवर्द्धन र महासंघको संस्थागत सुधारमा वर्तमान अध्यक्ष शेखर गोल्छाको नेतृत्व अत्यन्त सफल रहेको छ। सबैलाई समेटेर लैजान सक्ने, सरकारसँग व्यवसायीका समस्यालाई जोडदार ढंगले राख्न सक्ने र सहकार्यको संस्कार अघि बढाउन सक्ने सफल नेतृत्वकर्ताका रुपमा हामीले गोल्छाको भूमिकाको स्मरण गरिरहेका छौँ। गोल्छाकै नेतृत्वमा हामीले ‘भिजन २०३०’(राष्ट्रिय आर्थिक रुपान्तरण २०३०) अघि सारेर त्यसलाई सरकारले समेत अनुमोदन गरी अघि बढाइरहेको अवस्था छ। महासंघको संरचनागत र संस्थागत सुधारमा समेत धेरै प्रयास भएका छन्।
भिजन २०३० ले अघि सारेको ‘सम्मानित निजी क्षेत्र समृद्ध नेपाल’को लक्ष्य हासिल गर्न अब महासंघ जुट्नुपर्ने भएको छ। श्रमिक र रोजगारदाताबीच आपसी सम्बन्ध सुमधुर बनाउँदै उत्पादन बढाउने, व्याजदर स्थिर राख्ने, पूर्वाधारको विकास तथा विद्युतीय उर्जालाई सस्तो मुल्यमा २४ सै घण्टा आपुर्ति हुने वातावरण तयार गर्ने एवं साना तथा मझौला व्यवसायीलाई विना धितो कर्जा उपलब्ध गराएर उद्यमशीलताको विकास गर्ने भिजन २०३० को कार्यान्वयन नै अबको महासंघको नयाँ नेतृत्वको मुल प्राथमिकता हुनुपर्दछ।
अहिले ४५ खर्ब हाराहारीमा रहेको नेपालको अर्थतन्त्रलाई २०३० सम्म सय खर्ब पुर्याउने गरी भिजन २०३० ले निर्धारण गरेको लक्ष्य प्राप्तिका लागि सरकार र निजी क्षेत्रको सहकार्य अघि बढ्न सकेमा निश्चय पनि आर्थिक समृद्धिको चाहना पुरा हुने छ।
नयाँ बर्ष २०८० को प्रारम्भसँगै महासंघको नेतृत्व वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गर्नुहुनेछ। उहाँ पनि एक कुशल, क्षमतावान र उद्योगी व्यवसायीको भावना बुझ्न सक्ने नेतृत्वकर्ता हुनुहुन्छ। अब ढकालको नेतृत्वमा हामीले उद्योग वाणिज्य महासंघलाई थप उचाइमा पुर्याउनुपर्नेछ।
भूकम्प, कोरोना महामारी र आर्थिक मन्दीका कारण थला परेका उद्योग व्यवसाय क्षेत्र अस्थिर राजनीतिका कारण थप समस्यामा परेको छ। आर्थिक क्षेत्रलाई चलायमान बनाउन पूर्वाधार, औद्योगीकरण, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, सेवा आदि सबै क्षेत्रमा ठूलो लगानी भित्र्याउन अपरिहार्य रहेकोे छ । यसका लागि लगानी बोर्ड, औद्योगिक प्रवर्द्धन बोर्ड तथा उद्योग विभागबाट भित्रिने लगानीको सहजीकरण आवश्यक छ। साना, मझौला तथा स्वरोजगारमा आधारित उद्योगहरुले भोग्नु परिरहेका समस्याका विषयमा पनि बेलैमा सबैको ध्यान जानु आवश्यक छ।
सूचना प्रविधिमा आधारित ‘डिजिटल अर्थतन्त्र’ लाई प्रवर्द्धन नगरी मुलुकको समग्र अर्थतन्त्रलाई आधुनिक र प्रतिस्पर्धी बनाउन सकिँदैन । नेपाल उद्योग वाणिज्य महासंघमा गर्नुपर्ने सुधारका साथै नेपालको उद्योग व्यवसाय क्षेत्रका व्यावसायिक हकहितका कार्यलाई महासंघको सशक्तता र सुधार, जिल्ला नगर उद्योग वाणिज्य संघहरूलाई सक्षम र सबलीकरण गर्ने, नेपालमा उद्योगमैत्री वातावरणको निर्माण, व्यवसायीका हकहितका विषयवस्तु, नीति निर्माणमा गरिने पैरवी, नेपालमा उद्यमशीलताको विकास र विस्तारको वातावरण निर्माण, वैदेशिक लगानी भित्र्याउने वातावरणको निर्माणजस्ता विषयमा ध्यान दिनु जरुरी छ।
समग्रमा अर्थिक समृद्धिको आधारः राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण र पूर्वाधार भन्ने मूल नाराका साथ सरकार र नीजि क्षेत्रको सहकार्य तथा तत्कालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यहरु निर्धारण गरी अघि बढ्नु नै आजको प्रमुख आवश्यकता हो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago