काठमाण्डौ । सेयर बजारले नयाँ आर्थिक वर्षलाई हरियो कार्पेट बिच्छ्याएर स्वागत गरेको छ।
नयाँ आर्थिक वर्षको पहिलो दिन सोमबार सेयर बजार ४७.०७ अंकको भारी वृद्धिका साथ उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २१४४.१६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ९.९५ अंकले बढेर ४०४.१० को विन्दुमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा बढेर साढे २ अर्ब रुपैयाँ बढीको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बजार बढ्नुमा विभिन्न कारण रहेको बताउँछन्। ‘अहिले बजारमा तरलता फालाफाल छ, ऋण लिएर लगानी गर्नेलाई ढुक्क भएको छ र अब लाभांशको सिजन पनि सुरु हुनेछ’, उनले भने, ‘चालु कर्जापुँजीको ब्याज पनि घटेको छ।’
घरजग्गालगायत अन्य व्यापार–व्यवसायमा खासै कर्जा जान नसकेको ढकाल बताउँछन्। ‘त्यसैले पैसा आउने भनेको सेयर बजारमै हो’, उनले भने।
मौद्रिक नीति पनि पुँजीबजारलाई प्रभावित गर्ने गरी नआउने ढकालको भनाइ छ। ‘त्यसैले बजार अब माथि नै जानेछ’, उनले भने।
बजार जानकार दमोदर गजुरेल अब कम्पनीहरुको वार्षिक वित्तीय प्रतिवेदन र सन्तुलित मौद्रिक नीति पनि आउने बेला भएकोले लगानीकर्ताको मनोबल बढ्दै जाँदा बजार बढेको बताउँछन्।
प्राविधिक रुपमा हेर्दा पनि बजार बुलिस नै रहेको गजुरेलको भनाइ छ। ‘म्याक्डीमा बुलिस क्रोसओभर बन्दै गएको छ’, उनले भने, ‘सुपर ट्रेन्ड पनि भ्यालिड नै रहेको छ। एडीएक्स पनि बजार बाउन्स ब्याक भएको देखिन्छ।’
आज भोलुम पनि राम्रै आएको गजुरेल बताउँछन्। ‘त्यसैले बजार साउनभित्रै २५०० सम्म पुग्न सक्छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ।
यो दिन विकास बैंक समूह सर्वाधिक ४.१४ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ३.६१ प्रतिशतले बढ्दा बैंकिङ समूहमा २.८६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.६६ प्रतिशत, जलविद्युत समूहमा १.४४ प्रतिशत, लगानी समूहमा १.७२ प्रतिशत, जीवन बीमा समूहमा २.३६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.४० प्रतिशत, लघुवित्त समूहमा १.५१ प्रतिशत, निर्जीवन बीमा समूहमा २.३२ प्रतिशत, अन्य समूहमा १.३२ प्रतिशत र व्यापार समूहमा १.४४ प्रतिशतको बढोत्तरी भएको छ।
आज म्युचुअल फन्ड समूह ०.४९ प्रतिशतले ओरालो लागेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २५७ कम्पनीका ७६ लाख ३४ हजार १९० कित्ता सेयर २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन शिवम सिमेन्टको सर्वाधिक १४ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन लाइफ इन्स्योरेन्सको १० करोड ८४ लाख रुपैयाँबराबरको कारोबार भएको आज शाइन रेसुंगा डेभलपमेन्टको ७ करोड ७५ लाख रुपैयाँ, सोल्टी होटेलको ७ करोड ७३ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ५ करोड ११ लाख रुपैयाँ, निफ्राको ४ करोड ५६ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड ४८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४ करोड ४६ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ४ करोड ४० लाख रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकको ४ करोड १४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ३ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। बिपिडब्लु लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा युनाइटेड अजोड इन्स्योरेन्स र अभियान लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको हो।
यो दिन पिपुल्स हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा ३ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19