– अर्जुन तिमिल्सिना

काठमाण्डौ । विगत २८ वर्षको इतिहासमा सेयर बजारका लागि गत आर्थिक वर्ष २०७७/७८ सम्झनयोग्य रह्यो। अवश्य पनि, सेयर बजार विश्लेषकहरुले गत आर्थिक वर्षलाई सधैँ उदाहरणका रुपमा प्रस्तुत गर्नेछन्। 

समग्र गत आर्थिक वर्षमा सेयर बजार परिसूचकमा सतप्रतिशत नै वृद्धि भएको छ। यो हिसाबले पनि आर्थिक वर्ष २०७७/७८ ऐतिहासिक रहेको छ। 

यो साता पनि आर्थिक वर्ष २०७७/७८ को अन्तिम कारोबारमा सेयर बजारमा हरियाली छायो। यो साता सम्रगमा बजार ५८ अंकले सकारात्मक रह्यो भने साप्ताहिक कारोबार ३५ अर्ब रुपैयाँ हुन पुग्यो। जुन औसत रुपमा दैनिक ७ अर्ब रुपैयाँबराबर हुन आउँछ। 

अघिल्लो साताभन्दा यो साता ७ अर्ब रुपैयाँभन्दा बढी कारोबार भएको छ भने सेयर भोलुममा पनि वृद्धि भएको छ। यो हिसाबले कारोबार र भोलुमको विश्लेषणमा बजार बुलिस नै रहेको छ। तर पनि लगानीकर्ताले अब आउने साता केही महत्वपूर्ण विषयमा चनाखो नै हुनुपर्ने देखिन्छ।

मौद्रिक नीति

नेपाल राष्ट्र बैंक स्रोतका अनुसार सरकारमा परिवर्तन आए पनि मौद्रिक नीतिमा खासै परिवर्तन आउने छैन। त्यसैले समयमै बजेटलाई सहयोग गर्ने गरी मौद्रिक नीति आउने बताइएको छ। त्यसैले साउनको पहिलो साता मौद्रिक नीति आउने पक्का छ। यो हिसाबले राष्ट्र बैंकले ल्याउने नीति भनेको मुद्रा बजारलाई व्यवस्थित गर्ने गरी आउने भएकोले अहिले पुँजी बजारमा खासै डराउनुपर्ने देखिन्न तर चनाखो हुन भने आवश्यक छ।

ब्याजदर 

आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा बैंकहरुले आधार दर घटाएका छन्। जसका कारण कर्जाको ब्याज दर पनि घट्न सक्ने वा स्थिर नै रहने हुनाले अबको ३ महिना सेयर बजारमा चहलपहल राम्रै हुन सक्ने सम्भावना पनि छ। लगानीकर्ताले ब्याज दरको विषयमा निकै चनाखो भएर हेर्नुपर्छ। किनकि सेयर बजारमा ब्याजदर र बजारको विपरीत बाटो हुन्छ।

बजेट 

नयाँ सरकार बनेको भए पनि अर्को बजेट आउन सजिलो नभएको तथा यही सरकारले पनि संसदबाट समर्थन नपाइसकेकोले तत्काल यही बजेटको विकल्प देखिन्न। यस विषयमा लगानीकर्ताले धेरै चिन्ता गर्नुपर्ने देखिन्न।

नेपाल धितोपत्र बोर्डको नीति तथा कार्यक्रम 

सम्भवतः आगामी साता सुरुआततिरै नेपाल धितोपत्र बोर्डले नीति तथा कार्यक्रम ल्याउन सक्छ। धितोपत्र बोर्डमा अहिले नीति तथा कार्यक्रममाथि घनिभूत रुपमा छलफल भइरहेको छ। बोर्डले आफ्नो ४ वर्षे रणनीतिक योजनाअनुसार नीति तथा कार्यक्रम आउने जनाएकोले बजारमैत्री नै हुने आशा गर्न सकिन्छ।

नयाँ अर्थमन्त्री 

सेयर बजारमा अर्थमन्त्रीको छाया चाहेर वा नचाहेर परिरहेकै हुन्छ। हालका अर्थमन्त्री जनार्दन शर्माले ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्दा कमाएको छवि पक्कै पनि अर्थ मन्त्रालयमा कायमै राख्ने विश्वास गरिएको छ। त्यसैले नयाँ अर्थमन्त्रीकै विषयमा धेरै टाउको दुखाइरहनु पर्ने देखिन्न।