काठमाण्डौ । झिनो आशा जगाउँदै यो साताको अन्तिम कारोबार दिन बिहीबारको बजार बन्द भएको छ ।
यो दिन नेप्से परिसूचक दोहोरो अंकले बढिसके पनि अन्तिम समयमा फेरि करेक्सनको अवस्था देखिई ५.५ अंकले घटी १४३५.७० को विन्दूमा बन्द हुन पुग्यो ।
नेप्से परिसूचकमा झिनो गिरावट आएको यो दिन अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ । यो दिन बजारमा १७९ कम्पनीका ५९ लाख ४० हजार ५३३ कित्ता सेयर २ अर्ब ४५ करोड ७० लाख ९३ हजार ४६३ रुपैयाँमा किनबेच भयो ।
राष्ट्रबैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षामार्फत लघुवित्त कम्पनीहरुको लाभांशको विषयमा गरेको नयाँ व्यवस्थाबाट तर्सिएर यो समूहका कम्पनीको सेयर फाल्ने क्रम यो दिन रोकिएको छ । संसोधित नीति आएपछिका प्रत्येक कारोबार दिन भीषण पहिरो व्यहोरेको माइक्रोफाइनान्स कम्पनीको सेयरमूल्यमा बिहीबार पनि निकै राम्रो बढोत्तरी भयो ।
अघिल्लो दिनको बजारको अत्यासलाग्दो गिरावटबाट आहात लगानीकर्तालाई थोरै भए पनि राहातको महसुस गराएको बजारका ५ समूहको उपसूचक बढे भने बाँकी ७ समूहको उपसूचकमा रातो पोतियो ।
अघिल्लो दिनको तुलनामा राम्रा र बलिया कम्पनीमा देखिएको तीव्र बिक्री चाप केही थामिएका कारण यो दिन सेन्सेटिभ इण्डेक्स १.१५ अंकले मात्र घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.३६ अंकको गिरावट आयो ।
यो दिन बैंकिङ समूह १४.२४ अंकले घट्यो भने व्यापार समूहमा १७.७२ अंक, होटल समूहमा २५.९८ अंक, जलविद्युत समूहमा ९.३१ अंक, निर्जीवन बिमा समूहमा २५.६२ अंक, उत्पादन तथा प्रशोधन समूहमा ३८.९५ अंक र म्युचुअल फण्ड समूहमा ०.१४ अंकको गिरावट आयो ।
विकास बैंक समूह २१.२७ अंकले बढेको यो दिन बित्त समूहमा ७.८१ अंक, माइक्रोफाइनान्स समूह ४८.०३ अंक, जीवन बिमा समूहमा ७७.८५ अंक र अन्य समूहमा २ अंकको बढोत्तरी भयो ।
साताको अन्तिम कारोबार दिनमा बजारले आशा जगाएको उल्लेख गर्दै धेरै कम्पनीहरुमा उच्च खरीद चाप देखिएको र बिक्री तथा खरीद मूल्यबीचको झिनो रकमको अन्तरमा दिनभर बार्गेनिङ चल्दा बढिसकेको बजार पनि अन्तिमा करेक्सन भई बन्द हुन पुगेको विश्लेषक बताउँछन् । बिहीबारको बजारको चाल र प्रवृति हेर्दा आगामी साताबाट बजार पुनः बढ्ने पर्याप्त आधार तथा संकेतहरु देखिएको उनीहरुको दाबी छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै कारोबार गर्यो । यो कम्पनीको ३७ करोड ८७ लाख बढीको सेयर किनबेच भयो।
एनएमबी बैंकले १२ करोड ६५ लाख बढीको कारोबार गरेको यो दिन एनआइसी एशिया बैंकले ९ करोड ६८ लाख, मञ्जुश्री फाइनान्सले ८ करोड ४२ लाख, नवील बैंकले ६ करोड ५८ लाख, हिमालयन डिस्टीलरीले ६ करोड ४४ लाख, प्रभू बैंकले ६ करोड ६ लाख, ग्लोबल आइएमई बैंकले ६ करोड, शिवम सिमेन्टले ५ करोड र मुक्तिनाथ विकास बैंकले ४ करोड ६० लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
केही दिनदेखिको ट्रेण्डलाई निरन्तरता दिंदै यो दिन समेत मञ्जुश्री फाइनान्सको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । यो कम्पनीलाई एनआइसी एशिया बैंकले लिन लागेको हल्ला फैलाएर चलखेल गरी स्वार्थ समूहले दैनिकजसो कम्पनीको मूल्य बढाइरहेको देखिएको छ । यही क्रममा बिहीबार पनि १० प्रतिशतले मूल्य बढ्यो ।
यो दिन रादी विद्यूत कम्पनीको सेयर मूल्य ९.०४ र बोटलर्स नेपाल(तराई) लिमीटेडको मूल्य ८.२१ प्रतिशतले वृद्धि भयो ।
यो दिन धेरै माइक्रोफाइनान्स कम्पनीमा गइरहेको भीषण पहिरो रोकी तिनीहरुको मूल्यमा उकालो यात्रा सुरु भएको समेत देखिएको छ । धेरै कमाउने केही कम्पनीपछिको सूचिमा माइक्रोफाइनान्सहरुको बोलवाला रहेको छ ।
यो दिन नेपाल हाइड्रो डेभलपर्स लिमीटेड र हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमीटेडको सेयरमूल्यमा पहिरो गयो । यी दुवै कम्पनीको सेयरमूल्य क्रमशः ९.६९ र ९.३२ प्रतिशतले घट्यो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago