काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले गत पुस २४ गतेदेखि माघ २८ गतेसम्म संस्थाको मधेश तथा १ नं.प्रदेश अन्तर्गतको १६ वटा शाखा कार्यालयहरुमार्फत २ दिने सीपमूलक तालिम सञ्चालन गरेको छ। 

वित्तीय संस्थाले शाखा कार्यालयहरुमा आबद्ध सदस्यहरुमध्ये ७१० जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सर्फ, झोल साबुन, अचार, स्याम्पु, ह्यान्डवास, टीका–बिन्दी, चुरा–गहना, कुसन तथा भाडा माझ्ने साबुन बनाउने तालिम प्रदान गरेको होे। 

वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलबाट प्रशिक्षण दिइएको तालिमबाट सहभागीहरुले कम लागतमा बिभिन्न सामानहरु उत्पादन गर्ने तरिका, बजारीकरणलगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए। हालसम्म यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरुमार्फत झन्डै ४ हजार ८७० जना विपन्न महिलाहरुलाई यस प्रकारका निःशुल्क सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट सञ्चालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे। 

यसका साथै तालिमपश्चात सदस्यहरुको लघुव्यवसायमा वृद्धि भई उक्त क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास दुलालले व्यक्त गरे।