काठमाण्डौ । नयाँ आर्थिक वर्ष लागेसँगै विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले आस्बा शुल्क सार्वजनिक गरेका छन्। 

केही बैंकहरुले आस्बा निःशुल्क गरेका छन् भने केहीले प्रतिआवेदन नै रु. १०० सम्म तोकेका छन्। यसरी आस्वा शुल्क सार्वजनिक गर्ने वाणिज्य बैंकहरुमा ३ वटाले निःशुल्क गरेका छन् भने ८ वटाले १० रुपैयाँ तोकेका छन्। 

यसैगरी एउटा बैंकले १५ रुपैयाँ, ८ वटाले २० रुपैयाँ, ५ वटाले २५ रुपियाँ र एउटाले १०० रुपैयाँसम्म आस्बा शुल्क निर्धारण गरेको छ। यसरी १०० आस्बा शुल्क तोक्नेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ। 

निःशुल्क आस्बा सेवा प्रदान गर्नेमा राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक र एनआईसी एसिया बैंक छन्। 

स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्की अहिलेको अवस्थामा १०० रुपैयाँसम्म आस्बा शुल्क लाग्नुलाई बिडम्बना भएको बताउँछन्। ‘४ करोड क्यापिटल भएको कम्पनीहरुले आईपीओ निकाल्दा आस्बा फी नै ६ करोड लगानीकर्ताबाट उठाउनु बिडम्बना हो’, उनले भने, ‘आस्बा शुल्क सबै बैंकहरुले निःशुल्क गर्नुपर्छ।’

आस्बा सेवा निःशुल्क गर्दा बैंकहरुलाई नै फाइदा हुने कार्कीको भनाइ छ। ‘यसले बैंकहरुको ग्राहक संख्या बढ्छ’, उनले भने, ‘जसका कारण बैंकको डिपोजिट बढ्न जान्छ र व्यापार पनि बढ्छ।’

बैंकहरुले लगानीकर्ताबाट साधारण सेयर भर्दा पैसा रोक्का गरेबापत लिने शुल्कलाई ‘आस्बा’ भनिन्छ। 

यस्ता छन् बैंकहरुको आस्बा शुल्क –

  • राष्ट्र वाणिज्य बैंक, नबिल बैंक र एनआईसी एसिया बैंक – निःशुल्क
  • नेपाल बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, प्रभु बैंक र प्राइम कमर्सियल बैंक – रु. १०
  • ग्लोबल आइएमई बैंक – रु. १५
  • सिभिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, हिमालयन बैंक, सिटिजन्स बैंक, एनएमबि बैंक र सानिमा बैंक – रु. २०
  • मेगा बैंक नेपाल, लक्ष्मी बैंक, सेञ्चुरी कमर्सियल बैंक र नेपाल एसबीआई बैंक – रु. २५
  • स्ट्यान्डर्ड चार्टर्ड बैंक – रु. १००