काठमाण्डौ । लगानीकर्ताहरुले लामो समयदेखि उठाउँदै आएका दुुई महत्वपूर्ण माग धितोपत्र बोर्डले पूरा गरिदिएको छ ।
बोर्डले सम्बद्ध सबै निकायहरुलाई परिपत्र गर्दै हकप्रद सेयर आस्वा प्रणालीबाट भर्नसक्ने व्यवस्था गर्न र बिक्री नभएको सेयरको लिलामीका लागि उपत्यका बाहिरबाट समेत आवेदन दिनसक्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।
अब धितोपत्रको सार्वजनिक निश्कासनमा जस्तै हकप्रद भर्दा आस्वाबाट भर्न पाइनेछ भने कम्तीमा उपत्यका बाहिरका केही प्रमुख शहरहरुबाट लिलामीको सेयरमा बोलपत्र दर्ता गर्न पाइनेछ । बोर्डले पहिलो चरणमा विराटनगर, वीरगञ्ज, पोखरा, वुटवल, नेपालगञ्ज, सुर्खेत तथा धनगढीबाट लिलामीबाट सेयर किन्नसक्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।
धितोपत्रको हकप्रद निष्काशन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमैत्री बनाउन, बिक्री नभएको हकप्रद सेयरको सेयरको लिलाम प्रक्रियामा उपत्यका बाहिरबाट समेत आवेदन दिनसक्ने व्यवस्था गर्न तथा धितोपत्र बजार, धितोपत्र दलाल व्यवसायी तथा मर्चेन्ट बैंकरहरुको संस्थागत सुशासनलाई अझ प्रभावकारी बनाई नियमपालनाको अवस्थालाई थप सुदृढ बनाउन नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, सम्पूर्ण धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंकर तथा आस्वा सदस्यहरुलाई बोर्डले परिपत्र गरेको हो ।
परिपत्रमा उल्लेख प्रमुख बुँदा यस्ता छन्:
१. धितोपत्रको हकप्रद निष्काशन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमैत्री वनाउन धितोपत्रको हकप्रद निष्काशनमा आस्वा प्रणालीमार्फत समेत आवेदन गर्न सक्ने व्यवस्था गर्ने ।
२. बिक्री नभएको हकप्रद सेयरको लिलाम प्रक्रियामा उपत्यका बाहिरको प्रमुख केन्द्रहरु कम्तीमा विराटनगर, वीरगञ्ज, पोखरा, वुटवल, नेपालगञ्ज, सुर्खेत तथा धनगढीवाट आवेदन दिनसक्ने व्यवस्था गर्ने ।
३. नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, धितोपत्र दलाल व्यवसायीले वोर्डमा पेश गर्नुपर्ने त्रैमासिक प्रतिवेदनमध्ये प्रत्येक दोस्रो तथा चौंथो त्रैमासिक प्रतिवेदनसँग र धितोपत्र व्यवसायी (मर्चेन्ट वैंकर) ले पेश गर्नुपर्ने अर्धवार्षिक प्रतिवेदनसंग लेखापरीक्षकवाट प्रमाणित नियमपालना प्रतिवेदन समेत वोर्डमा पेश गर्ने व्यवस्था गर्ने ।
यो व्यवस्थाबाट धितोपत्रको हकप्रद निष्काशन तथा बिक्री नभएको हकप्रद सेयर लिलाम प्रक्रियामा लगानीकर्ताले सहज तथा सरल ढंगले आवेदन दिनसक्नेछन् । यस्तै, यसले धितोपत्र बजारको क्षेत्र अझ विस्तार भई देशव्यापी हुने र धितोपत्र बजार, धितोपत्र दलाल व्यवसायी तथा मर्चेन्ट बंैकरको नियमपालनाको अवस्थामा थप सुधार हुने बोर्डको विश्वास छ ।