काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले आईपीओ निष्कासनको तयारीमा रहेको सुपर मादी हाइड्रोपावर लिमिटेडलाई (इक्राएनपी–आईआर) बीबी निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ। 

उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले जनाएको छ। ‘यो कुनै खास ऋणपत्रविशेषको राय भने होइन’, इक्राले भनेको छ। 

रेटिङ वर्ग (इक्राएनपी–आईआर) एएदेखि (इक्राएनपी–आईआर) सीसम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ। यसको अर्थ (इक्राएनपी–आईआर) बीबी प्लसको स्थिति (इक्राएनपी–आईआर) बीबीभन्दा एक चिह्न माथि रहन्छ। जब कि (इक्राएनपी–आईआर) बीबी माइनसको स्थिति (इक्राएनपी–आईआर) बीबीभन्दा एक चिह्न तल रहन्छ।

सुपर मादीले १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको छ। यो आईपीओ आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ। 

कम्पनीको जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ। कम्पनीले कास्कीको मादी गाउँपालिकास्थित मादी खोलामा निर्माणाधीन सुपर मादी जलविद्युत् आयोजनाका लागि लगानी जुटाउन यो आईपीओ निष्कासन गर्न लागेको हो। यो आयोजना करिब ६५ प्रतिशत सम्पन्न भइसकेको छ। आगामी २०७८ साल पुसभित्र विद्युत्को व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना कम्पनीको छ। 

कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ।