काठमाण्डौ । आईपीओ निष्कासनको तयारी गरेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडलाई इक्रा नेपालले ‘(इक्रा एनपी–आईआर) बीबी प्लस’ रेटिङ प्रदान गरेको छ। 

यो रेटिङ प्राप्त गर्ने संस्था समया वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको मानिन्छ। यद्यपि इक्रा नेपालले निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र भएको र यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको स्पष्ट पारेको छ। 

रेटिङ वर्ग (इक्रा एनपी–आईआर) एएदेखि (इक्रा एनपी–आईआर) सीसम्मका रेटिङ संकेत पछाडि रहने प्लास (जोड) वा माइनस (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ । यसको अर्थ (इक्रा एनपी–आईआर) बीबी प्लसको स्थिति (इक्रा एनपी–आईआर) बीबीभन्दा एक चिह्न माथि रहन्छ। जब कि (इक्रा एनपी–आईआर) बीबी माइनसको स्थिति (इक्रा एनपी–आईआर) बीबीभन्दा एक चिह्न तल रहन्छ।

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ करोड २८ लाख रुपैयाँ बढीको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। 

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ सर्वसाधारण ९संस्थाका कर्मचारी र सामूहिक लगानी कोषसमेत० का लागि निष्कासन गर्नेछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा संस्थाले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त भइसकेको छ। 

पर्वतको कुश्मा बजारमा केन्द्रीय कार्यालय रहेको यो संस्था नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “घ” वर्गको राष्ट्रियस्तरको वित्तीय संस्था हो । संस्थाको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ। संस्थापक समूहको ७० प्रतिशत सेयर रहेको संस्थामा दुईवटा संस्था र ८१ जना संस्थापक सेयरधनीबाट १७ करोड २१ लाख २५ हजार रुपैयाँबराबरको सेयरपुँजी चुक्ता भइसकेको छ।  

वित्तीय संस्थाले हाल ५६ वटा शाखा कार्यालयमार्फत राष्ट्रियस्तरमा ७८ हजारभन्दा बढी विपन्न परिवारलाई समूहमा आबद्ध गरी वित्तीय सेवा दिँंदै आइरहेको छ। 

विगत २० वर्षदेखि नेपाल राष्ट्र बैंकवाट वित्तीय मध्यस्थकर्ताको कारोबार गर्ने इजाजत लिई काम गर्दै आइरहेको राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपालले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा मिति २०७५ फागुन २९ गतेका दिनदेखि लघुवित्त वित्तीय संंस्थाका रुपमा इजाजत प्राप्त गरेसँगै वित्तीय कारोबार गर्दै आएको छ।