– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपालका वाणिज्य बैंकहरुमध्ये एभरेष्ट बैंक पनि एक हो। पञ्जाब नेसनल बैंकसँग पार्टनरसिप रहेको यो बैंक नेपालका आग्रणी बैंकहरुमध्येमै पर्छ। 

बैंकमा २० प्रतिशत सेयर पञ्जाब नेसलन बैंकको रहेको छ। बैंकमा ५९.२३ प्रतिशत संस्थागत लगानी रहेको छ भने ४०.७७ प्रतिशत सर्वसाधारणको रहेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको चुक्तापुँजी ९ अर्ब ४६ करोड रुपैयाँ रहेको छ। बैंकको सेयर प्रिमियम २३ करोड ८४ लाख रुपैयाँ रहेको छ। 

बैंकको रिटेन अर्निङ ३ अर्ब ८९ करोड र रिजर्भमा ९ अर्ब ९ करोड रुपैयाँ रहेको छ। बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। 

बैंकको ईपीएस २७.०१ रुपैयाँ, रिटर्न अन इक्विटी ११.७६ प्रतिशत, नेटवर्थ २४० रुपैयाँ र पीई रेसियो १९ गुणा रहेको छ।

आज बैंकको दोस्रो बजारमा अन्तिम कारोबार मूल्य ५० रुपैयाँ कायम भएको छ। बैंकको १० वर्षको वार्षिक औसत लाभांश दर ३६ प्रतिशत रहेको छ। गत आर्थिक वर्षका लागि पनि बैंकले ४१ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ। 

इचिमोकुका आधारमा 

यो बैंकको सेयरमूल्य बढ्दो गतिमा देखिन्छ। दैनिक चार्टमा इचिमोकुअन्तर्गत गत १८ जुलाईमा कन्भर्जन लाइनले बेस लाइनलाई तलबाट काटेर माथि गएको छ। (हेर्नुहोस् हरियो एरो) 

त्यसैगरी मूल्यरेखाले पनि क्लाउड पोजिसनभन्दा माथि गएको छ। २६ दिनपछि चल्ने ल्यागिङ स्पान पोजिसन पनि क्लाउड पोजिसनभन्दा माथि गएकोले बैंकको सेयरमूल्य बुलिस यात्रा तय गर्दै गरेको देखिन्छ। तर, क्लाउड पोजिसन भने अझै पनि रातो नै रहेको छ। (हेर्नुहोस् माथि मुख्य तस्बिरमा) 

सुपर ट्रेन्डका आधारमा 

यो बैंकको सुपर ट्रेन्ड पनि बुलिस नै रहेको देखिन्छ। मूल्यरेखाले गत २५ जुलाईमा नै सुपर ट्रेन्डलाई तलबाट काटेर माथि गएको छ। योसँगै सुपर ट्रेन्डको रङ पनि रातोबाट हरियो भएको छ। 

बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा 

दैनिक चार्टमा यो बैंकको मूल्यरेखाले बोलिंगर ब्यान्डको माथिल्लो ब्यान्डलाई छोएर झरेको छ। योसँगै मध्य ब्यान्डमा सपोर्ट लिँदै गरेको देखिन्छ। म्याक्डीमा पनि एमसीडी लाइनले सिग्नल लाइन नजिक–नजिक हुँदै गरेको देखिन्छ तर बियरिस क्रसओभर नभइसकेको देखिन्छ। हिस्टोग्राम छोटा–छोटा भएका छन् तर नेगेटिभ भने भइनसकेको अवस्था रहेको छ। आरएसआई पनि ओभर बट जोन ७५ बाट झरेर हाल ५८ मा आएको छ। आरएसआई केही माथि नै फर्किन खोजेको देखिन्छ। 

पिभट विश्लेषण 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– ५२३
  • प्रतिरोध २– ५५२
  • प्रतिरोध ३– ५६९

पिभट प्वइन्ट : ५०६

घटेमा सपोर्ट 

  • सपोर्ट १– ४७८
  • सपोर्ट २– ४६१
  • सपोर्ट ३– ४३२

फियर एन्ड ग्रिड मिटरका आधारमा 

फियर एनड ग्रिड मिटरका आधारमा यो बैंकको सेयर विक्कली बुलिस सेन्टिमेन्टमा देखिन्छ। ५२ हप्ताको न्यून मूल्य ४१३ र उच्च मूल्य ७७२ रुपैयाँ रहेको यो बैंकको सेयर हाल दोस्रो बजारमा ५०९ रुपैयाँमा चलेको छ। 

निष्कर्ष

वार्षिक औसत ३६ प्रतिशत लाभांश दिएको यो बैंकले यस आर्थिक बर्षममा पनि ४१ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्छ। कुनै बेला उच्च मूल्य ३६०० रुपैयाँसम्म पुगेको यो बैंकको हाल दोस्रो बजारमा ५०० रुपैयाँको आसपासमा कारोबार भएको छ। यो बैंकलाई आधारभूत रुपमा केलाउँदा खासगरी अल्पकालका लागिभन्दा पनि दीर्घकालका लागि लगानी गर्न उपयुक्त हुने देखिन्छ। अल्पकालीन औजरहरुले यो बैंकको सेयरमा केही करेक्सन हुन सक्ने देखिन्छ। तर, नेटवर्थ, प्राइस अर्निङ रेसियो, प्राइस टु बुक भ्यालु र रिटर्न अन इक्विटीका आधारमा यो बैंकको अहिलको मूल्य अन्डर भ्यालु नै देखिन्छ। 

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ।