काठमाण्डौ । इजरायलले पहिलो चरणमा ‘केयरगिभर’ का लागि लैजाने नेपाली श्रमिकको कोटा बढाएर १ हजार पुर्याएको छ। 

यसअघि इजरायलले पहिलो चरणमा केयरगिभरका लागि ५०० नेपाली श्रमिक लैजाने सहमति गरेको थियो। यसअघि ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर गर्दा इजरालले पहिलो चरणमा ५०० नेपाल श्रमिक लैजाने सहमति गरेर अहिले बढाएर १ हजार पुर्याएको हो। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलमा केयरगिभर काममा नेपाली श्रमिक पठाउन आवश्यक कार्यविधि तयार गरिरहेको छ। तयार भएपछि नेपाली युवाहरूलाई इजरायल पठाउने प्रक्रिया सुरु हुनेछ। कार्यविधि बनिरहेकै बेला इजरायलले कोटा बढाएकोमा खुसीको कुरा भएको वैदेशिक रोजगार विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले बताए।

नेपाल र इजरायलबीच गत माघमा ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ मा हस्ताक्षर भएको थियो। योसँगै अहिले केयरगिभर तालिम लिनेको संख्या ह्वात्तै बढेको छ। 

इजरायल रोजगारीमा प्रवेश गर्न सीटीईभीटीबाट मान्यताप्राप्त प्रशिक्षण केन्द्रबाट कम्तीमा ३ महिनाको केयरगिभर तालिम लिएको हुनुपर्नेछ। अंग्रेजी भाषामा पनि पोख्त हुनुपर्छ। 

इजरायल जान २५ वर्ष पूरा भएर ४५ वर्ष ननाघेको हुनुपर्छ। उचाइ कम्तीमा १.५ मिटर तथा तौल कम्तीमा ४५ केजी हुनुपर्छ। 

इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क कामदार आफैँले तिर्नुपर्नेछ। आतेजाते हवाई टिकट, बीमा लगायत शुल्क पनि श्रमिकले नै बेहोर्नुपर्नेछ। 

इजरायल प्रवेशका लागि कामदारले तिर्नुपर्ने शुल्क के कति भनेर कार्यविधिमै प्रस्ट्याइने मन्त्रालयले जनाएको छ।