काठमाण्डौ। इजरायलमा रोजगारीका लागि जान लिइएको आंग्रेजी भाषा परीक्षा लिखितको नतिजा मंगलबार सार्वजनिक भएको छ।  

वैदेशिक रोजगार विभागले भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको हो। परीक्षा सोमबार लिइएको थियो। 

लिखित परीक्षामा २ हजार ३९ जना उत्तीर्ण भएका छन्। तीमध्ये १ हजार ३९५ जना महिला र ६४४ जना पुरुष छन्। 

परीक्षामा सहभागी हुन ९ हजार ६९९ जनाले आवेदन दिएको थिए। तीमध्ये ७ हजार ९ जनाले मात्र परीक्षाका लागि प्रवेशपत्र बुझेका थिए। तीमध्ये पनि परीक्षामा ६ हजार ३१७ जना मात्र सहभागी भएका थिए भने ६९२ जना अनुपस्थित भए। 

अब भाषा परीक्षा उत्तीर्ण भएकाहरुको अन्तर्वार्ता लिइने विभागले जनाएको छ। अन्तर्वार्तामार्फत इजरायल जान योग्य १ हजार ४०० कामदार छनोट गरिने विभागको भनाइ छ। 

छनोट भएकाहरुको सूची इजरायल सरकारलाई पठाइनेछ। इजरायलले सो सूचीबाट छनोटमा परेका ७०० महिला र ३०० पुरुष इजरायल रोजगारका लागि जान पाउनेछन्।