सुनसरी । नियमकारी निकायले बेवास्ता गरेका कारण इटहरी उपमहानगरपालिका लगायत सुनसरीका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा संचालित स्वास्थ्य उपचार क्लिनिकहरु, अस्पताल, डेण्टल क्लिनिकहरु बिनादर्ता नै संचालन भइरहेका पाइएको छ । दर्ता भएकाहरुले पनि वर्षौदेखि नवीकरण नै नगरेको तथ्य फेला परेको छ । 
 

पूर्वको मुख्य केन्द्रबिन्दुका रुपमा विकास भइरहेको इटहरीमा पछिल्लो समयमा निजी लगानीमा स्वास्थ्य संस्थाहरु खुल्ने क्रम बढेसँगै दर्ता नै नगरी चलाउने प्रवृति पनि बढिरहेको छ । दर्ता नै नगरी संचालनमा आइरहेका स्वास्थ्य संस्थामा सबैभन्दा बढी डेण्टल क्लिनिकहरु छन् । जनस्वास्थ्य कार्यालय इनरुवा सुनसरीको रेकर्डमा इटहरीबाट हिमाल डेण्टलबाहेक अरु कुनै डेण्टल दर्ता नभएको पाइएको छ । नियमअनुसार डेण्टल क्लिनिक र अस्पतालहरुले अनिवार्य रुपमा जनस्वास्थ्य कार्यालयमा दर्ता हुनुपर्छ । दर्ता गरेर संचालनको अनुमति लिएर मात्र संचालन गर्न पाउने नियम भए पनि संचालकहरुले आफूखुसी चलाइरहेका हुन् । उनीहरुले आफूखुसी डेण्टल चलाइरहँदा पनि हालसम्म नियमनकारी कुनै पनि निकायहरुले चासो देखाएका छैनन् । 
 

०७० सालयता क्षेत्रीय जनस्वास्थ्य कार्यालय धनकुटाले स्वास्थ्य संस्था दर्ताको सम्पूर्ण अधिकार जिल्ला जनस्वास्थ्य कार्यालयहरुलाई प्रत्याजोन गरेको थियो । ०७० अघि क्षेत्रमा दर्ता भएका स्वास्थ्य संस्थाहरुले अनिवार्य रुपमा प्रत्येक वर्ष लेखापरीक्षण प्रतिवेदन, प्रगति प्रतिवेदन र आगामी वर्षको अनुमानित प्रगति प्रतिवेदनसहित जनस्वास्थ्य कार्यालय इनरुवामा पेश गरी दस्तुर बुझाई नवीकरण गर्नुपर्ने हुन्छ । तर जनस्वास्थ्य कार्यालयले उपलब्ध गराएको नवीकरण गरेका स्वास्थ्य संस्थाहरुमा पनि हिमाल डेण्टल हस्पिटल प्रा. लि.बाहेक अरु कुनै पनि डेण्टल नवीकरणको सूचीमा समेत छैनन् ।  नवीकरणको सूचीमा नहुनुको अर्थ यी स्वास्थ्य संस्थाहरु गैरकानूनी रुपमा संचालन भइरहेका छन् भनेर बुझ्न सकिने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 
 

पछिल्लो समय इटहरीको पूर्व बस स्टेण्ड दक्षिणमा खुलेको इटहरी डेन्टल क्लिनिक दर्ता बिना नै एक बर्षअघिबाट संचालनमा आइरहेको छ । डेन्टल क्लिनिकका लागि चाहिने सामानहरु बिक्री गर्ने देव मेहताले सो डेन्टल संचालनमा ल्याएका हुन् ।  उनैले संचालनमा ल्याएको कोशी डेन्टल शाखा पनि दर्ता छैन ।  उनले इटहरी डेन्टलमा आफै विरामी हेर्ने र दाँत खोल्ने काम गर्दै आएको पाईएको छ । पूर्व बस स्टेण्डकै दक्षिणमा रहेको पूर्वाञ्चल डेन्टल पनि दर्ता नभएको पाइएको छ । संचालक भने डेन्टल सम्बन्धी अध्ययन गरेकै व्यक्ति हुन् । 
 

इटहरीमा संचालित नाम चलेका सुस्वास्थ्य डेन्टल, सयपत्री डेन्टल, मेघा डेन्टल, रब्ब डेन्टल लगायतका संस्था पनि दर्ता र नवीकरणको सूचीमा छैनन् । स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० अनुसार दर्ता भई नवीकरण भएका इटहरीमा स्वास्थ्य संस्थाहरुमा इटहरी मेडिकल एण्ड स्वास्थ्य उपचार क्लिनिक, इटहरी टिआर हस्पिटल, सुनसरी डायग्नोष्टिक सेन्टर, पाथीभरा मेडिकल सेन्टर,  सामुदायिक अस्पताल, मुनाल डायग्नोष्टिक सेन्टर प्रा. लि., बुद्धसाई डायग्नोष्टिक सेन्टर प्रा.लि., सनसाइन मेडिकल एण्ड डायग्नोष्टिक सेन्टर प्रा.लि., शैलुगं पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर प्रा.लि. रहेका छन् । त्यसैगरी, समाज कल्याण पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर प्रा.लि., आविदा इन्टरनेशनल मेडिकल सेन्टर प्रा. लि., कान्तिपुर मेडिकल सेन्टर प्रा. लि. र आरम्भ मेडिकल एण्ड डाईग्नोष्टिक सेन्टर प्रा. लि. पनि दर्तासहित संचालनमा छन् । 
 

दर्ता भई नवीकरण नगर्नेहरुमा ईन्खा प्राकृतिक उपचार तथा डाईग्नोष्टिक सेन्टर प्रा.लि., इटहरी राम्रो लाइफ केयर पोलिक्लिनिक डायग्नोष्टिक, वेदान्त पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर, जागृत नेपाल प्रा.लि., एपेक्स् अस्पताल र ओम साई मनकामना आरोग्य सेन्टर प्रा.लि. रहेका छन् । 
 

इटहरीमा औषधी व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरमा फार्मेसी संचालनका लागि पसल दर्ता गरेकै भरमा अस्पताल नै संचालन गरिरहेको पनि पाइएको छ । इटहरी ४ मा संचालित न्यू अधिकारी मेडिकल हल औषधी व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरमा दर्ता छ । तर सो स्थानमा संचालित अधिकारी हेल्थ केयर सेन्टर दर्ता भएको र नवीकरण भएको कुनै रेकर्ड जनस्वास्थ्य कार्यालय इनरुवामा छैन । संचालकले बिशेषज्ञ डाक्टरहरुको सेवा, ल्याब, एक्सरे, भिडियो एक्सरे सेवा लगायत वेडहरु समेत राखेर व्यवसाय संचालन गरिरहेको छ । सो स्थानमा डाक्टरहरु रइस पोख्रेल, यमनबहादुर श्रेष्ठ, सुनिल यादव, लक्ष्मीनारायण यादव, हिरालाल साहनी र विकास केसी बिरामी जाँचका लागि आउने गरेका छन् । दर्ताबिना दादागिरी र पैसाको भरमा संचालन हँुदै आएको न्यू अधिकारी मेडिकल हलमा डेढ महिनाअघि एपेन्डीक्स भएर उपचारका लागि भर्ना भएकी एक व्यापारीकी श्रीमतिको झण्डै ज्यान लिने काम संचालकले गरे । 
 

इटहरी १ सुविधा मार्केटमा रेडिमेट कपडाको होलसेल व्यापार गर्दै आएका विजय श्रेष्ठको श्रीमति अचानक पेट दुःख्ने बिरामले सताएपछि विश्वास गरी नजिकैको न्यू अधिकारी मेडिकल हलमा भर्ना भएकी थिइन् । उनको भिडियो एक्सरे पनि गरिएको थियो । त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुले उनलाई फुट पोइजन हो भनी स्लाइनपानी चलाएर २ दिनसम्म राख्ने काम गरेका थिए । विरामीको अवस्था झन जटिल भएपछि विराटनगर लगिएको थियो । विराटनगरका डाक्टरले भिडियो एक्सरे रिपोर्ट हेर्दा एपेन्डिक्स फुटिसकेको र दुईघण्टा भित्रमा अप्रेशन नगरे विरामीलाई बचाउन नसक्ने बताएपछि तत्काल अप्रेशन गरेर श्रीमतिलाई बचाउन सफल भएको विजयले बताए । आफू पीडित भएपछि सम्बन्धित निकायहरुमा उजुरी गर्न लागे पनि अधिकारी नजिकका व्यपारी साथीहरुले घुमाउरो पाराले धम्की दिएका र संचालकहरुले पनि जहाँ गएर उजुरी गरे पनि केही फरक नपर्ने भन्ने जस्ता धम्की दिएकाले आफू बाध्य भएर चूप बस्नु परेको विजयले बताए । न्यू अधिकारी मेडिकल हलमा यस्तो घटना पटक पटक हुने गरेको छ । यसअघि पनि न्यू अधिकारी मेडिकल हलमा गरिएको गलत उपचारबाट धेरै जना विरामीहरु पीडित भइसकेका छन् । संचालकले पीडित र नियमकारी निकायलाई आर्थिक प्रलोभनमा पारेर लुटधन्दा चलाइरहेका स्थानीयको भनाई छ । 
 

न्यू अधिकारी मेडिकल हललाई विश्वास गरेर उपचारका लागि भर्ना हुँदा आफ्नो ज्यान झण्डै गएको पीडित मध्येका प्रकाश नेपालले बताए । यस्ता स्वास्थ्य संस्थाहरुलाई संरक्षणको साटो कडा कानूनी कार्वाही गर्नु पर्ने उनको भनाई छ । 
 

क्लिनिक नै दर्ता नगरी बिरामी उपचार सेवा संचालन न्यू अधिकारी मेडिकल हलले मात्रै होइन, इटहरीमै नाम चलेको पञ्चकोशी हेल्थ सर्भिसेस प्रालिको पनि जन स्वास्थ्य कार्यालय इनरुवाको रेकर्डमा दर्ता र नविकरण नभएको पाइएको छ । इटहरी २ आँपगाछीमा रहेको यूनिक फार्मेसीले दर्ता र अनुमति बिना नै इमर्जेन्सी, ओपीडि र अतिरिक्त बिषेशज्ञ डाक्टरहरुको सेवा संचालन गरिरहेको छ । त्यसैगरि इटहरीको विराटनगर लाईनमा संचालित दिप मेडिको, पशुपति हस्पिटल प्रालि पनि दर्ता र नविकरण नभएको पाईएको छ । इटहरीको पूर्व लाइनमा रहेको क्याब्रीज मेडिकल सेन्टरको दर्ता रेकर्ड देखिदैन् । 
 

दर्ता र नवीकरण भई संचालन भइरहेका अस्पतालहरुले पनि अनुमति लिएको भन्दा बढी नै सेवाहरु संचालन गरेर लुटधन्दा चलाइरहेका छन् । ल्याब र एक्सरे संचालनको अनुमति मात्रै पाएकाहरुले डाक्टर राखेर स्वास्थ्य उपचारका सबै सेवाहरु संचालन गरिरहेका पाइएको छ । 
 

जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरी इनरुवाका शाखा अधिकृत जितेन्द्रलाल श्रेष्ठका अनुसार स्वास्थ्य संस्थाहरुले कम्पनी रजिष्टार कार्यालयमा मात्र दर्ता गरेर संचालन गर्न पाउदैनन् । कम्पनी रजिष्टार कार्यालयसंगै संचालन अनुमतिका लागि अनिवार्य रुपमा जिल्ला जन स्वास्थ्य कार्यालयमा दर्ता गराउनु पर्छ । जिल्लाको इटहरी तथा धरानमा दर्ताबिना नै अस्पताल र क्लिनिकहरु संचालन भईरहेको सूचना पाए पनि जनशक्ति र बजेट अभावले अनुगमन गर्न नसकिरहेको श्रेष्ठले बताए ।  उनकाअनुसार केही दिनअघि मात्रै सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले दर्ता भई नवीकरण भएका जिल्लाका स्वास्थ्य संस्थाहरुको लिष्ट मगाएको र कार्यालयले उपलब्ध गराएकाले अब त्यसको अनुगमन हुने उनको भनाई छ । उनले कतिपय अवस्थामा उजुरी नपरी कारबाही गर्न नमिल्ने भएकाले पनि अनुगमन गरीब कानूनी दायरामा ल्याउन कठिन भईरहेको बताए ।