सुनसरी । प्रदेश नम्बर १ को केन्द्र तथा उपमहानगरपालिका इटहरीका नवनिर्वाचित मेयर र उपमेयरले पदभार ग्रहण गर्दै पहिलो बोर्ड बैठक डाकेर केही लोकप्रिय निर्णय गरेका छन् । 

मेयर द्वारिकलाल चौधरीको अध्यक्षमा बसेको बोर्ड बैठकले इटहरीबासीको गुनासो सुन्न हेलो मेयर कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । बाबुराम भट्टराई प्रधानमन्त्री भएको समयदेखि सुरु भएको हेलो सरकार कार्यक्रम सिंहदरबारमा अलपत्र परिरहेको बेला इटहरीले भने हेलो सरकारलाई स्थानीयकरण गर्दै ‘हेलो मेयर’ कार्यक्रम संचालन गर्ने भएको हो । 

पहिलो बैठकले इटहरीका विभिन्न वार्डमा हरेक महिना सफाई अभियान चलाउन, एक महिनाभित्र घुम्ती शौचालय सञ्चालन गर्ने, बढी यात्रु आवागमन हुने र पर्यटक आवगमन हुने स्थानमा फ्रि वाईफाई जोन बनाउने लगायतका निर्णय गरेको छ । 

यस्तै, पहिलो बैठकको निर्णयको बिषयमा जानकारी दिन मेयरको कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्याउने निर्णय समेत भएको उपमहानगरकी प्रवक्ता तथा उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।

उनका अनुसार नगर क्षेत्रमा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र नगरपालिकाबाट सञ्चालित स्वास्थ्य क्लिनिकबाट निःशुल्क औषधी वितरण गर्ने र नेपाल सरकारले स्वास्थ्य संस्था मार्फत प्रदान गर्दै आएको सुत्केरी भत्तामा केही रकम थप गर्न बजेट विनियोजन गर्ने निर्णय पनि भएको छ । यस्तै, नगरबासीको गुनासो सुन्न गुनासो पेटीका राख्ने र टोल फ्रि नम्वरको व्यवस्थापन गन, असाय, अपाङ्ग हिंसामा परेका महिला, ज्येष्ठ नागरिक, बालबालिकाको लागि कार्यालय भित्र सहायता कक्ष स्थापना गर्ने निर्णय समेत गरिएको छ ।