-भक्तराज रसाइली
काठमाण्डौ । नेपालको पूँजीबजारलाई डिजिटाइज्ड गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको सीडीएससीले इलेक्ट्रोनिक डेबिट इन्स्ट्रक्सन स्लीप(ईडीआईएस) सेवा छिटोमा आउने साताबाट सुरु गर्ने भएको छ । 

सेयर बजारमा विकास र प्रविधिलाई जोड्दै आएको सिडिएससीले मेरो सेयरका ३ लाख १६ हजार सक्रिय लगानीकर्तालाई इलेक्ट्रोनिक डेबिट इन्सट्रक्सन स्लीपको थप सुविधा दिन लागेको सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले बिजशालालाई जानकारी दिए।

यो सिस्टमको कार्यान्वयनसँगै सेयर कारोबारमा सेयर बेच्दा सेयरधनीले आफ्नो आफ्नो डीपीमार्फत डेबिट गर्न दिइने निर्देशन पूर्जा अर्थात डेविट इन्सट्रक्सन स्लिप बोकेर ब्रोकर कार्यालय धाउनुपर्ने व्यवस्थाको अन्तः हुनेछ ।

भदौ महिनाभित्रै ईडीआईएस प्रणालीमार्फत सीडीएससीको मेरो सेयरमार्फत सेयरधनीहरुले इडीआईएस विकल्पको सुविधा पाउने सिडीएससीका प्रवक्ता न्यौपानेले बिजशालालाई जानकारी दिएका छन् । मेरो सेयरको होमपेजको देब्रे साइडमा इडीआइएस सुविधाको अप्सन थपिन लागेको उनले बताए । 

‘ईडीआईएसको काम सकिसकेको छ, नियामकबाट स्वीकृति पाएसँगै अब औपचारिक रुपमा यो सेवाको सुरुवात गर्न मात्र बाँकी छ ।’ न्यौपानेले भने ।

ईडीआईएस अप्सनमा गई आफूले कारोबार गरेको डिटेल आउँछ । त्यहाँ पूल एकाउन्ट ब्रोकरको हुनेछ । क्वान्टिटी टू बी ट्रान्सफर्ड भन्ने अप्सन पनि त्यहाँ हुन्छ । अनि आफूले बेचेको सेयर क्वान्टिटी अटोमेटिक आउँछ, त्यसपछि रिक्वेष्ट सेण्ड गर्दा ओके बटन थिचेपछि डीपीकोमा जानकारी जान्छ । डीपीकहाँ पठाउँदा  डीपीले डेबिट गर्ने प्रणालीको विकास हुने सीडीएससीका न्यौपानेले बिजशालालाई बताए । सिस्टम चाहि टी प्लस टु नै भए पनि ब्रोकरकोमा नगई २ कार्यदिनभित्र मेरो सेयरमार्फत रिक्वेस्ट पठाउन सकिनेछ ।

बेच्ने लगानीकर्ताले रिक्वेष्ट पठाउँदा ईडीआईएसकै अर्को अप्सन ‘ट्रान्सफर रिक्वेष्ट’को स्टाटस पनि हेर्न मिल्ने न्यौपानेको भनाई छ । स्टाटसमा पेण्डिङ अप्सन वा एक्नलेज अप्सन आउनेछ । पेण्डिङको अर्थ डीपीले सेटलमेण्ट नभएको भन्ने हुनेछ र एक्नलेजमेण्टबाट डीपीले आवश्यक प्रक्रिया पूरा भएको बुझिने न्यौपानेले जानकारी दिए।

साउन १ गतेदेखि सेयर कारोबारमा पूर्ण स्वचालित अनलाईन प्रणालीको परीक्षण लागू भएसँगै फुल फेजको अनलाइन प्रणालीमा इडिएसको मुख्य भूमिका हुने प्रवक्ता न्यौपानेले बताए । यो सुविधाका कारण डीपीकोमा गएर डीआईएस चेक दिनुपर्ने झञ्झट नहुने र सेयर ब्रोकरको पनि समय र खर्च बचत भई लागत पनि कम हुनेछ । 

नेप्सेले चाँडै ल्याउन लागेको पूर्ण अनलाईन प्रणालीमा अनलाईन ट्रेडिङसँगै सेयर हस्तान्तरण पनि अनलाईन नै हुने भएपछि सेयर बजारको विकासमा कोशेढुंगा साबित हुने सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले दाबी गरे ।

उनका अनुसार यस प्रणालीबाट क्लोजआउटको समस्या पनि पूर्ण रुपमा निराकरण हुनेछ।

हाल प्रचलनमा रहेको टी प्लस टू अन्तर्गत सेयर कारोबार राफसाफ गर्दा कहिले सेयरधनी आफैं ढिला भइदिने, कहिले सिग्नेचर९हस्ताक्षर० नमिल्दा त कहिले बेचेका कम्पनीका कोडमा सेयरधनी कन्फ्यूज हुँदा डीआइएसकै लफडाबाट हुने क्लोजआउट र कहिले डीपीको सिस्टमको खराबीले समस्या आउने गरेको ब्रोकरहरुको भनाई छ ।