काठमाण्डौ। साताको अन्तिम कारोबार दिन बिहीबार पनि पूँजीबजारमा झिनो अंकको करेक्सन भएको छ । 

नेप्से १.७८ को झिनो अंकले घटी १८२३.०५ मा झरेको छ । बुधबारको तुलनामा कारोबार रकम पनि करिब १५ करोड भन्दा बढीले घटेको छ । 

नेप्से परिसूचकमा सामान्य गिरावट, तर कारोबार रकम समानान्तर ढंगले नघट्दा आगामी दिनमा सेयर बजार अझ तल ओर्लने संभावना देखिएको छ । 

बिहीबार वाणिज्य बैंक, बित्त र अन्य समूहमा रातो पोतिएको छ । वाणिज्य बैंक  ५.७९ अंकले घटेको छ भने बित्त र अन्य समूहमा क्रमशः ७.९ र ७.८१ अंकको गिरावट देखिएको छ । 

नेप्से परिसूचकमा सामान्य गिरावट, तर कारोबार रकम समानान्तर ढंगले नघट्दा आगामी दिनमा सेयर बजार अझ तल ओर्लने संभावना देखिएको छ । 

अन्य समूह पनि उकालो लागेका छन् । होटल र जलविद्युत समूहको सूचक २ प्रतिशत भन्दा बढीले उकालो लागेको छ । जलविद्युत समूह ४८.२९ अंकले उक्लिएको छ भने होटल समूहमा ५१.७१ अंकको बढोत्तरी देखिएको छ । विकास बैंक समूहमा १.६५ अंकको झिनो वृद्धि भएको छ । बिमा समूह ३६.२३ अंकले उक्लिएको छ । 

बिहीबार सेन्सेटिभ इण्डेक्स ०.६२ अंकले ओरालो  लाग्दा फ्लोट इण्डेक्स चाहि ०.०१ अंकले उक्लिएको छ । 
बुधबार १ अर्ब ६५ करोड बढीको कारोबार भएकोमा बिहीबार १ अर्ब ५० करोडको मात्र सेयर किनबेच भयो । 

धेरै कारोबार गर्ने कम्पनी
बिहीबार सबैभन्दा बढी लुम्बिनी जनरल इन्स्योरेन्सको १३ करोड ४७ लाखको सेयर किनबेच भयो । सनराइज बैंकले १० करोड १५ लाख, एभरेष्ट बैंकले ८ करोड ३९ लाख, नेपाल बंगलादेश बैंकले ६ करोड ३६ लाख, प्रभू इन्स्योरेन्सले ५ करोड ४४ लाखको कारोबार गरे । यस्तै, चिलिमे हाइडोपावरको ४ करोड ५३ लाख, हिमालयन जनरल इन्स्योरेन्सको ४ करोड ९ लाख, नवील बैंकको ३ करोड ८० लाख, लक्ष्मी लघुवित्त बित्तीय संस्थाले ३ करोड २५ लाख र सिद्धार्थ डेभलपमेन्ट बैंकले ३ करोड २१ लाखको सेयर कारोबार गरे । 

धेरै कमाउने र गुमाउनेहरु
बिहीबार एभरेष्ट इन्स्योरेन्स, त्रिवेणी विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्सका लगानीकर्ताले राम्रो कमाए । यी तीन कम्पनीको सेयर मूल्यमा ६ प्रतिशत भन्दा बढीले बढोत्तरी भयो । केही जलविद्युत कम्पनी र केही माइक्रो फाइनान्सले पनि राम्रो कमाए । 

बिहीबार शिखर इन्स्योरेन्सको प्रोमोटर सेयरको मूल्यमा ७ प्रतिशत भन्दा बढीको गिरावट आयो । सिन्धु विकास बैंकको सेयर मूल्य पनि करिब ६ प्रतिशतले घट्यो । नेपाल लाइफ इन्स्योेरेन्स कम्पनीको  प्रोमोटर सेयरको मूल्य पनि घट्यो ।