काठमाण्डौ । देशको इतिहासमै पहिलोपटक संगठित रुपमा सेयर लगानीकर्ताहरुले आज प्रदर्शन गर्दैछन् । 

पछिल्लो समय सुनियोजित रुपमा बजारलाई घटाउने खेल भएको बुुझेका लगानीकर्ताहरुले ऐतिहासिक प्रदर्शनलाई नेपाल स्टक एक्सचेञ्जको मुख्य कार्यालय केन्द्रीत बनाउने भएका हुन् । 

'नेप्सेलाई अप्ठ्यारो पार्न धितोपत्र बोर्डको योजनामा लगानीकर्तालाई उचाल्ने काम भएको हो ।'

-नेप्सेका अधिकारी

उनीहरुले नेपाल स्टक एक्सचेञ्जका कतिपय अधिकारीकै मिलेमतोमा बजार घटाउने खेल भएको र लगानीकर्ताहरुको जहाज डूबिरहे पनि नेप्से यो विषयमा उदासीन बनेको भन्दै ६ बुँदे मागसहित प्रदर्शन गर्नेछन् । केही महिनाअघि गठन भएको सेयर लगानीकर्ता संघले यो ऐतिहासिक प्रदर्शनको अगुवाई गर्दैछ । 

दुुई दिनअघि बसेको संघको बैठकले बुधबार १०ः३० बजे सिंहदरबार प्लाजामा रहेको नेप्से कार्यालय घेराउ गरी प्रदर्शन र नाराबाजी गर्ने निर्णय गरेको थियो । 

पछिल्लो समय दैनिकजसो बजारमा पहिरो गइरहेको छ । यसले लगानीकर्ताहरुले अर्बौ गुमाइसकेका छन् । मंगलबार एक दिनमा मात्र लगानीकर्ताले ३० अर्ब गुुमाउन पुुगे । यसरी दैनिकजसो आफ्नो जहाज डूूबेको हेर्नुभन्दा बजारमा भएको चलखेल र मुठ्ठीभरका शक्तिले परिचालन गर्ने गरेको बजारलाई दीर्घकालका लागि सबैलाई सहज बनाउने उद्देश्यले यसरी आन्दोलन हुन लागेको संघका अधिकारीहरुले बताएका छन् । 

सेयर लगानीकर्ता संघले संघले बैंकलाई यथाशीघ्र ब्रोकर लाइसेन्स दिनुपर्ने, ब्रोकरहरुलाई यथाशीघ्र शाखा बिस्तार गर्न दिनुपर्ने, कारोबारमा यथाशीघ्र अनलाइन प्रणालीको सुरुवात हुनुपर्ने, बोनस, हकप्रद, मर्जर र सूचिकृतको नीति नियम स्पष्ट हुनुपर्ने, बजार निर्माता ल्याउन पहल हुनुपर्ने र गैरआवासीय नेपालीलाई पनि पूँजीबजारमा ल्याउने प्रयासलाई यथाशीघ्र सार्थक बनाउनुपर्ने माग राखेको छ । 

आत्तियो नेप्से
नेप्सेका अधिकारी लगानीकर्ताहरुले आन्दोलनको सुरुवात गर्नुअघि नै अत्तालिएका छन् । मुख्य रुपमा तिनका कर्तुत खुल्ने डरले उनीहरुलाई अत्यास लागेको हुनसक्छ । 

लगानीकर्ताहरुको ऐतिहासिक प्रदर्शनको ठीक एक दिनअघि मंगलबार नेप्सेले हतार हतार पत्रकार सम्मेलन गरी बजार बिस्तारका लागि आफूले पहल गरिरहेको, बरु आफ्नो प्रयासमा धितोपत्र बोर्डले अवरोध गरिरहेको आक्षेप लगायो । नेप्सेका अधिकारीहरुले बोर्डले अनेक झमेला खडा गरेर बजार बिस्तारमा असहयोग गरेको आरोप लगाएका थिए । यी आरोपहरुको पछाडिको एउटै कारण थियो, नेप्सेका अधिकारीहरुले लगानीकर्ताहरुको आन्दोलनलाई बोर्डबाट परिचालित भएको बुुझ्नु । 

'नेप्सेलाई अप्ठ्यारो पार्न धितोपत्र बोर्डको योजनामा लगानीकर्तालाई उचाल्ने काम भएको हो ।' नेप्सेका एक अधिकारीले बिजशालासँग भने-'नियामक धितोपत्र बोर्ड हो, उसैको असहयोगले बजारमा अस्थिरता पैदा भएको छ, तर लगानीकर्ता धितोपत्र बोर्ड छाडेर हामीलाई घेर्ने कुरा गर्दै हुनुहुन्छ, यसबाट पनि को कोबाट परिचालित छ भन्ने बुुझ्न सकिन्छ ।'