काठमाण्डौ । लगानीकर्ताहरुले लामो समयदेखि माग राख्दै आएका इन्ट्रा डे सेयर कारोबारको नेपालमा व्यवस्था छैन । यस्तै हुँदै नभएको सेयर समेत बिक्री हुने सर्ट शेलको समस्या उस्तै छ । यस्ता समस्याहरुको समाधान तथा इन्ट्रा डे कारोबारको संभाव्यता खोजी गर्न बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले एक अध्ययन समिति बनाएको छ । 

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीको संयोजकत्वमा एक अध्ययन समिति बनेको हो । 

समितिमा मर्चेन्ट बैंक एशोसिएसन, स्टक ब्रोकर एशोसिएसन, सिडिएस एण्ड क्लियरिङ लिमीटेड र नेप्सेका कर्मचारी सदस्यको रुपमा रहेका छन् । 

यो समितिलाई २ महिनाभित्र सम्भाव्यता अध्ययन गरी प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ । समितिले काम सुरु गरिसकेको संयोजक पराजुलीले जानकारी दिएका छन् । 

यो समितिले हालसम्म नेपाली बजारमा नभएको इन्ट्रा डे कारोबार सम्बन्धी व्यवस्था कार्यान्वयनमा केन्द्रीत रहेर अध्ययन गर्नेछ । ‘इन्ट्रा डे कारोबार सुरु गरेपछि सर्ट शेलको व्यवस्था पनि हुनुपर्छ ।’ संयोजक पराजुलीले बिजशालासँग भने–‘नेपालमा हालसम्म सेयर सापट लिने व्यवस्था छैन । कसैले कोहीबाट सेयर सापट लिएर बेच्न आउँछ पनि त्यसलाई समेत फ्यासिलेट गर्ने खालको नीति तथा सिस्टम बन्नुपर्यो । यो विषयमा पनि हाम्रो अध्ययन केन्द्रीत हुनेछ ।’ 

यदि यो समितिले नेपालको बजारमा पनि इन्ट्रा डे ट्रेडिङ सुरु गर्न सकिने सुझाव दियो र त्यो कार्यान्वयनमा आयो भने अहिले नपाइने सर्ट शेल समेत बैधानिक रुपमा कार्यान्वयनमा आउनेछ । 

यस्तै, सेयर लेण्डिङ र बरोइङको अवधारणा पनि सुरु हुनेछ । आफूसँग हुँदै नभएको सेयर बिक्री हुने समस्याको अन्त हुनेछ भने आफूसँग नभए पनि कम्पनी वा व्यक्तिबाट सेयर सापट लिएर बिक्री गरी नाफा कमाउने बाटो समेत खुल्न सक्नेछ ।