काठमाण्डौ । भारतीय एयरलाइन्स इन्डिगोले एयरबससँग ५०० वटा विमान खरिद गर्न सम्झौता गरेको छ। पेरिसमा चलिरहेको एयर शोका क्रममा सोमबार यो कीर्तिमानी सम्झौताको घोषणा गरिएको हो। 

यो वर्षको सुरुमा अर्को भारतीय एयरलाइन्स टाटाले ४७० एयरबस र बोइङ विमान किनेको भन्दा ठूलो सम्झौता हो।

इन्डिगो भारतको शीर्ष कम लागतको एयरलाइन हो र यसले यो ठूलो सम्झौताका लागि ५५ अर्ब डलर खर्च गर्नेछ। 

यसअघि टाटाले बोइङ र एयरबस विमान निर्माता कम्पनीसँग ४७० यात्रुवाहक विमान खरिद गर्न सम्झौता गरेको थियो। यो सम्झौतामा पनि एसिया, अमेरिका र युरोपमा पनि खुसी व्यक्त गरिएको थियो। 

फेरि भारतको उड्डयन उद्योगले अहिलेसम्मकै सबैभन्दा ठूलो विमान सम्झौताको साथ उच्च उडान गरेको छ। यी सबै जहाज सन् २०३० र २०३५ को बीचमा डेलिभरी हुनेछन्।

एयरबसका मालिक गैलम फोरीले यति ठूलो सम्झौता हालसम्म कसैले नगरेको दाबी गरे। ‘यो सम्झौता भारतको उड्डयन क्षेत्रका लागि एउटा प्रमुख कोशेढुंगा साबित हुनेछ’, उनले भने। 

इन्डिगो र एयरबसबीचको यो सम्झौता पेरिस एयर शोका क्रममा भएको हो। सम्झौतामा इन्डिगोका अध्यक्ष वी सुमन्थरान, सीईओ पिटर अल्बर्स र एयरबसका सीईओ गलम फोरीले हस्ताक्षर गरेका थिए।

इन्डिगोका सीईओ पिटर अल्बर्सले सम्झौताका बारेमा भने, ‘यस ऐतिहासिक अर्डरको महत्वलाई अतिरञ्जित गर्न सकिँदैन। हामीसँग अब १ हजार विमानको अर्डर बुक छ। यो प्रक्रियालाई अझ राम्रो बनाउनेछ।’

समाचार एजेन्सी रोयटर्सका अनुसार यो सम्झौता धेरै महिनादेखि वार्तामा थियो। यति ठूलो संख्यामा विमानको अर्डरमा इन्डिगोले पनि एयरबसबाट केही छुट पाउने विश्वास गरिएको छ।

भारतको आन्तरिक उडान बजारमा इन्डिगोको करिब ६० प्रतिशत हिस्सा छ। इन्डिगोका प्रमुख कार्यकारी पिटर अल्बर्सले एक पत्रकार सम्मेलनमा भने, ‘यो त सुरुआतमात्र हो, अझ धेरै कुरा आउन बाँकी छ। भारतको विकास र भारतीय उड्डयन बजारको वृद्धिसँगै यो अर्डर गर्ने सही समय थियो।’ –एजेन्सी