काठमाण्डौ । नेप्से परिसूचकमा आज बुधबार दोहोरो अंकको उछालसँग कारोबार रकमसमेत ४ अर्ब रुपैयाँ नाघेको छ।

आज नेप्से परिसूचक २५.५८ अंकको वृद्धिसँगै १५१०.५७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.२५ को उछालका साथ ३०४.६० को उचाइमा पुगेको छ।

आज विभिन्न समयमा टीएमएसमा कुल १ घन्टा हाराहारी सेयर किनबेच हुन सकेन। स्टक ब्रोकर नम्बर ५२, ३८, १६, ४५, ३४ र ४९ लगायतका टीएमएस नचले पनि परिसूचक र कारोबार रकममा उछाल आएको छ। यदि आज ती सबै ब्रोकरहरुको टीएमएस सुचारु हुन्थ्यो भने दैनिक कारोबार रकमले ऐतिहासिक रेकर्डसमेत ब्रेक गर्दथ्यो।

निषेधाज्ञा र नयाँ लगानीकर्ताको बाक्लो जमात दोस्रो बजारमा प्रवेश भइरहेका छन्। पछिल्ला समयमा अनलाइनमार्फत सेयर कारोबार गर्नेको संख्या उल्लेख्य बढेकाले समेत लगानीकर्ताको मनोबल बढेको देखिन्छ।

आज सबै हाइड्रोपावर कम्पनीका सेयरमूल्यमा उछाल आएको छ। नियमित कारोबार समयमा लगानीकर्ताहरु हाइड्रोमा झुम्मिँदा अधिकांश सबै हाइड्रो कम्पनीहरुले सर्वोत्कृष्ट कमाउने कम्पनीमाथि कब्जा गरेका छन्।

सेयर बजारमा हाल बजार बढ्ने सकारात्मक माहौल र लगानीकर्ताहरुको बलियो मनोबल भएकै कारणसमेत उच्च खरिद चाप देखिन्छ। सूचीकृत कम्पनीका अधिकांश कम्पनीका सेयरको आपूर्तिभन्दा माग दोब्बर–तेब्बर रहेको देखियो भने हाइड्रोपावर कम्पनीका सेयरको मूल्य उछाल आएकाले बिक्री गर्न लगानीकर्ताले आपूर्ति नै नदेखाएको अवस्था सिर्जना भयो।

उसो त प्राविधिक विश्लेषकहरुले समेत खरिद चाप बलियो भएकाले अन्ततः बजार दिगो रुपमा नै बढ्ने दाबी गरेका छन्।

आज नेप्सेमा उपसमूहमा रहेका १२ समूहमध्ये १० वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ। 

यो दिन सबैभन्दा जलविद्युत् समूहमा उछाल आएको छ। यो समूहमा ९४.२२ अंकको वृद्धि भएको छ। 

यसैगरी बैंकिङ समूहमा १९.७८ अंक, विकास बैंक समूहमा २६.४५ अंक, वित्त समूहमा ७.७५ अंक, होटेल्स् समूहमा १.०२ अंक, उत्पादन तथा प्रशोधन समूहमा ३१.४२ अंक, लघुवित्त समूहमा १७.२८ अंक, म्युचुअल फन्ड समूहमा ०.०८ अंक, अन्य समूहमा ३७.११ अंक र व्यापार समूहमा १५.८४ अंकको बढोत्तरी भएको छ। 

आज निर्जीवन बीमा समूहमा १२५.८९ अंक र जीवन बीमा समूहमा ८८.६८ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १८६ कम्पनीका ९६ लाख ८६ हजार ९ कित्ता सेयर ४ अर्ब १८ करोड १० लाख ३६ हजार ११५ रुपैयाँमा कारोबार भएको छ। 

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ६७ करोड ४२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

यसैगरी शिखर इन्स्योरेन्सको १७ करोड ७५ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको १६ करोड ५१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ७५ लाख रुपैयाँ, नेको इन्सुरेन्सको १४ करोड ६७ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्सको १४ करोड ६० लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ११ करोड ५२ लाख रुपैयाँ, शिवम् सिमेन्टको ११ करोड ४८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १० करोड ४६ लाख रुपैयाँ र नेपाल बैंकको ८ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने 

आज कारोबार भएका १८६ कम्पनीमध्ये १४५ कम्पनीका सेयरधनीहरुले कमाएका छन् भने ४१ कम्पनीका सेयरधनीहरुले गुमाएका छन्। 

यो दिन १९ वटा हाइड्रो कम्पनीसहित २१ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ भने १० वटा कम्पनीको सेयरमूल्यमा ९ प्रतिशतभन्दा बढीको उछाल आएको छ। 

आज पाँचथर पावर कम्पनी, ङदी ग्रुप, जोशी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, राधी विद्युत, रिदि हाइड्रोपावर, युनियन हाइड्रोपावर र अपी पावरको सेयरमूल्यमा १० प्रतिशतको बढोत्तरी भएको छ। 

यसैगरी चिलिमे हाइड्रोपावर, उन्नति सहकार्य लघुवित्त, अपर तामाकोशी हाइड्रोपावर, हिमालयन पावर, एनआरएन इन्फ्रास्टक्चर, माउन्टेन हाइड्रो, घलेम्दी हाइड्रो, खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, सानिमा माई हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, सिनर्जी पावर र कालिका पावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। 

आज प्रभु इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरमूल्यमा ४ प्रतिशत बढीको गिरावट आएको छ।