काठमाण्डौ । साताको अन्तिम सेयर कारोबार दिन आज बिहीबार नेप्से परिसूचकमा उछाल आएको छ। परिसूचकमा उछालसँगै कारोबार रकमसमेत सवा ३ अर्ब रुपैयाँ नाघेको छ।
सेयर कारोबार मापक नेप्से परिसूचक १५५० विन्दुको आसपास नै घुमिरहेको यो साताको अन्तिम दिन बिहीबार भने परिसूचकले १५५० को पहिलो प्रतिरोधसमेत तोडेर पार गरेको छ। परिसूचकले १५५० को विन्दु पार गर्नेबित्तिकै लगानीकर्ताको मनोबलसमेत सकारात्मक भएकाले इन्डेक्स र दैनिक कारोबार रकमको समानान्तर वृद्धि आगामी दिनका लागि झन् सुखद् रहने विश्लेषकहरुको भनाइ छ।
नेप्से परिसूचक १५५० को विन्दु पार गरेपछि लगानीकर्ताहरुको मनोबल बढेको र अब नेप्सेको यात्रा १६०० विन्दु सहजै पार गर्ने विश्लेषकहरु दाबी गर्छन्।
आज नेप्से परिसूचक ३०.७८ अंकको बढोत्तरीका साथ १५७२.१८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ७.०२ अंकको बढोत्तरीका साथ ३१२.५० को उचाइमा पुगेको छ।
पछिल्लो इन्स्योरेन्स र बैंक समूहमा चहलपहल नचल्दा हाइड्रो, होटेल्स र फाइनान्स समूह भने निकै हराभरा भएका छन्। आज सर्वाधिक कमाउने कम्पनीहरुमा समेत हाइड्रोपावर, होटेल्स र फाइनान्सले नै कब्जा जमाएको छ।
हाइड्रोपावर, होटेल्स र फाइनान्सका अधिकांश कम्पनीका सेयरमूल्य बजारमा निकै न्यून मूल्यमा कारोबार भइरहेकोमा न्यूनमूल्यमा अधिक खरिदचाप बढेकाले समेत बजारमूल्य आकासिएको विश्लेषकहरुको भनाइ छ।
न्यून मूल्यमा बैंकभन्दा औसत रिटर्न पाइने भएकाले हाइड्रोपावरका सेयरमा लगानीकर्ताहरुको आकर्षण नै रहेको र सरकारले आजदेखि यातायात र होटेलहरुसमेत पुनः सुचारु गर्ने निर्देशनले समेत लगानीकर्तामा सकारात्मक प्रभाव पारेको विश्लेषकहरुको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने एउटा रातो पोतिएको छ।
यो दिन सबैभन्दा धेरै होटेल्स् समूहमा १६१.५१ अंकको बढोत्तरी भयो। जलविद्युत् समूहमा ८८.३८ अंकको बढोत्तरी भएको आज बैंकिङ समूहमा २८.०७ अंक, विकास बैंक समूहमा ६६.०४ अंक, वित्त समूहमा ४१.९५ अंक, जीवन बीमा समूहमा ४९.८८ अंक, उत्पादन तथा प्रशोधन समूहमा १३.३२ अंक, लघुवित्त समूहमा १२.२१ अंक, म्युचुअल फन्ड समूहमा ०.११ अंक, अन्य समूहमा ८.६९ अंक र व्यापार समूहमा ६.५६ अंकको बढोत्तरी भएको छ।
आज निर्जीवन बीमा समूहमा ०.४१ अंकको झिनो गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये १९१ कम्पनीका धितोपत्र कारोबार भएका छन्। कारोबार भएका कम्पनीमध्ये १४१ कम्पनीका सेयरमूल्यमा वृद्धि देखिएको छ भने २४ कम्पनीका सेयरमूल्यमात्रै घटे। यस्तै ५ कम्पनीका सेयरमूल्य भने स्थिर रह्यो।
आज १९१ कम्पनीका १ करोड ३२ लाख १८ हजार ६९९ कित्ता सेयर ३ अर्ब ७२ करोड ७२ लाख २२ हजार १०६ रुपैयाँमा कारोबार भएको छ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको मात्रै १४ करोड ९८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
नेपाल बैंकको १२ करोड ६३ लाख रुपैयाँका कारोबार भएको यो दिन चिलिमे हाइड्रोपावरको १० करोड ६१ लाख रुपैयाँ, माथिल्ला तामाकोशीको ८ करोड ६९ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ६५ करोड रुपैयाँ, एनएमबी बैंकको ७ करोड ५३ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ७ करोड १४ लाख रुपैयाँ, साना किसान लघुवित्तको ७ करोड ११ लाख रुपैयाँ, शिवम सिमेन्टको ७ करोड ९ लाख रुपैयाँ र कुमारी बैंक लिमिटेडको ६ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउनेहरु
आज ३० वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन रिलायन्स लाइफ इन्स्योरेन्स, सोल्टी होटेल, हिमाल दोलखा हाइड्रोपावर र तारागाउँ रिजेन्सी होटेलको सेयरमूल्य १० प्रतिशतले बढ्यो।
यसैगरी कालिका पावर, अरुण भ्याली जलविद्युत, श्री इन्भेस्टमेन्ट, गुहेश्वरी मर्चेन्ट, वरुण हाइड्रोपावर, रिलायन्स फाइनान्स, समृद्धि फाइनान्स, सेन्जेन लघुवित्त, ओरेन्टेल होटेल्स, छ्याङ्दी हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत, दिव्यश्वरी हाइड्रोपावर, नेसनल हाइड्रोपावर, जोशी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, सिनर्जी पावर, युनियन हाइड्रोपावर, राधी विद्युत, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट, अपी पावर, खानीखोला हाइड्रोपावर, राइराङ हाइड्रोपावर, नेपाल हाइड्रो, पञ्चकन्या माई हाइड्रो र कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि १० प्रतिशत हाराहारीमा वृद्धि भएको छ।
आज एनआरएन लघुवित्तको सेयरमूल्यमा ७ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago