काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सुदूरपश्चिम प्रदेशका फिल्ड कर्मचारीहरुलाई बिहीबार ग्राहक संरक्षण सिद्धान्तसम्बन्धी तालिम प्रदान गरेको छ। 

तालिममा ग्राहक संरक्षण सिद्धान्तको बारेमा विस्तृत रुपमा फिल्ड कर्मचारीहरु जानकारी दिई ग्राहक सुहाउँदो सेवासुविधा, कर्जा लगानी गर्दा अपनाउनुपर्ने सावधानीहरु, उत्तरदायी मूल्य, ग्राहकमैत्री व्यवहार, गोपनियता र ग्राहकको गुनासो तथा सुझावहरुको कार्यान्वयनको बारेमा फिल्ड कर्मचारीलाई प्रशिक्षित गरिएको जानकारी प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामाले गराए। गत आर्थिक वर्षमा शाखा कार्यालयहरुबाट ४२८ जना बाढीपीडित सदस्यलाई राहत वितरण गरिएको, ५९९ जना ग्राहकलाई सुत्केरी सुबिधा उपलब्ध गराइएको, ५७०९ जना सदस्य र २८३ जना अभिभावकलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको उनले बताए। 

त्यसैगरी संस्थाले आफ्ना सदस्यलाई लघुउद्यमी, स्वावलम्वी, आत्मनिर्भर बनाउनका लागि व्यवसायिक तथा उद्यमी तालिम विशेष गरेर तरकारी, च्याउ खेती, गाई, भैंसी, र बाख्रापालन तालिम गत वर्षमा ४९ वटा शाखा कार्यालयमार्फत २३८९ जना सदस्यलाई दिइएको लामाले जानकारी गराए। तालिमपश्चात धेरै सदस्यको मनोबलमा बृद्धि भई लघुउद्यमीसमेत भएको उनले बताए।