काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेड र नेशनल लाइफ इन्स्योरेन्सले संचालन गरेका इन्साइडर टेडिंगको धन्दाले साताको अन्तिम कारोबार दिन बजारमा ठूलै पहिरो गएको छ । 

खरीद गर्ने भन्दा बिक्री गर्नेको चाप बजारमा पर्दा र विशेष गरी एभरेष्ट बैंकको चलखेलले बजारमा ठूलो पहिरो गएको हो । 

एभरेष्ट बैंकका केही संचालक र व्यवस्थापनमा रहेका अधिकारीहरुको मिलेमतोमा एकसाताअघिदेखि नै बम्पर बोनस र हकप्रदको सूचना चुहाइएको थियो । यही धन्दाका कारण आइतबारदेखि नै बजार प्रभावित हुँदै आएको थियो । आइतबारदेखि बिहीबारसम्म एभरेष्ट बैंकले सबैभन्दा उच्च कारोबारको रेकर्ड यही कारण बनाएको थियो । 

बुधबार बजार बन्द भएपछि एभरेष्ट बैंकले लगानीकर्तालाई ७० प्रतिशत बोनस सेयर र ३३.३३ प्रतिशत हकप्रद वितरणको निर्णय गरेको सूचना नेप्सेमा नाटकीय रुपमा सम्प्रेषण भए पनि त्यसअघि नै बजार उच्च विन्दूमा पुगिसकेको थियो । बुधबार बजार बन्द भएपछि मात्र बम्पर सेयरको सूचना आधिकारिक रुपमा नेप्सेमा प्रकाशित भएको थियो । तर यही सूचना लिक भएका कारण आइतबारदेखि नै एभरेष्ट बैंकमा लगानीकर्ता झुम्मिएका थिए । 

इन्साइडर ट्रेडिङको धन्दाकै कारण अन्तिम कारोबार दिन पनि बजार प्रभावित भयो । कारोबार रकम १ अर्ब ५० करोड माथि पुगे पनि नेप्से परिसूचकमा भने ४०.८२ अंकको पहिरो गयो । २.४ प्रतिशतसम्मले बजार घट्दा र एभरेष्ट बैंककै गैरकानूनी हर्कतका कारण आम लगानीकर्ता मारमा पर्दा समेत नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज तातेका छैनन् । 

बिहीबार पनि एभरेष्ट बैंकको मात्र ५१ करोड ७० लाख बराबरको कारोबार गर्यो । एभरेष्ट बैंकको सूचना चुहिएकै कारण आइतबारदेखि ठूला तथा संस्थागत लगानीकर्ता पनि बजारमा उत्रिएका अनुमान गरिएको छ । बाठा लगानीकर्ताले सोझा लगानीकर्ताबाट आइतबारदेखि नै एभरेष्ट बैंक र नेशनल लाइफको सेयर खरीद गरिसकेका थिए । सूचनाको पहुँच भई त्यसको चरम दुरुपयोग हुनेहरुका अगाडि यसपटक पनि आम लगानीकर्ताले निकै ठूलो घाटा व्यहोर्नुपर्यो । बिहीबार नेशनल लाइफले पनि १२ करोड ५० लाख बराबरको कारोबार गर्यो । 

बिहीबार सेन्सेटिभ इण्डेक्समा ९.१३ प्रतिशतको गिरावट आयो । सबै समूहको सूचकमा रातो पोतियो । सबैभन्दा बढी बिमा, वाणिज्य बैंक र जलविद्युत समूहमा पहिरो गयो । वाणिज्य बैंक समूह ४०.९६, बिमा समूह २४१.९५ र जलविद्युत समूह ६०.२६ अंकले घटे । यस्तै, होटल समूह ५३.४४, विकास बैंक समूह ४१.६, बित्त समूह १२.५९ र अन्य १०.७ अंकले ओरालो लागे । 

धेरै कारोबार गर्नेहरु
बिहीबार वाणिज्य बैंक समूहले मात्र ९२ करोड ३४ लाख बढीको कारोबार गर्यो । विकास बैंकले ११ करोड बढी र बिमा समूहले ३५ करोड बढीको कारोबार गरे । 
एभरेष्ट बैंक र नेशनल लाइफ इन्स्योरेन्स बाहेक शिखर इन्स्योरेन्सले ७ करोड, सिद्धार्थ बैंकले पनि ७ करोडकै हाराहारी, सिभिल बैंकले ५ करोड १० लाख, सिद्धार्थ डेभलपमेन्ट  बैंक लिमीटेको ४ करोड ४१ लाख बराबरको प्रोमोटर सेयर, बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडको ३ करोड ६१ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३ करोड ५२ लाख बराबरको सेयर कारोबार भयो । 

धेरै कमाउने र गुमाउने
ठूलै पहिरो गएको बजारमा रिडी हाइडोपावर डेभलपमेन्ट कम्पनीले सबैभन्दा बढी ४ प्रतिशतको हाराहारीमा कमायो । यसैगरी, सिद्धार्थ डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ४ प्रतिशतकै हाराहारीमा वृद्धि भयो । 

बिहीबार सबैभन्दा बढी महिला सहयात्रा माइक्रोफाइनान्स बित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । सिभिल बैंकको सेयर मूल्य पनि ७ प्रतिशतको हाराहारीमा घट्यो । नेपाल ग्रामीण विकास बैंकको सेयर मूल्य पनि ७ प्रतिशतकै हाराहारीमा घट्यो ।