काठमाण्डौ । यूरोपियन यूनियन(इयू)बाट बेलायत अलग्गिने जनमतसंग्रहको नतिजासँगै अन्तराष्टिय बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । यही प्रभावका कारण नेपाली बजारमा समेत सुनको भाउ ३ वर्षको सबै रेकर्डहरुलाई तोड्दै उच्च विन्दूमा पुगेको छ । 

बिहीबार नेपाली बजारमा प्रति तोला ५६ हजारमा कारोबार भइरहेको सुन शुक्रबार इयूबाट बेलायत बाहिरिने जनादेशसँगै एकैदिन तोलामा ३ हजार रुपैयाँ वृद्धि भई ५९ हजार कायम भएको हो । 

एकैदिन तोलामा ३ हजार रुपैयाँ बढेपछि र यो क्रम अझै उकालो लाग्ने संकेतहरु देखिएपछि सुन सञ्चित गर्नेहरु मालामाल भएका छन् । 

असार महिनामा सुन सबैभन्दा बढी २ र ५ गते तोलाको ५७ हजारमा कारोबार भएको थियो । २०७० साल चैतमा तोलाका ५६ हजार ५ सयमा कारोबार भएको सुन त्यसपछि ५७ हजारको विन्दूमा २०७२ फागुन र यही असारमा मात्र पुगेको थियो । तर २०७० साल चैत भन्दा अघिका केही महिनाहरुको सबै रेकर्डहरुलाई समेत तोड्दै सुनले फड्को मारेको हो । 

बजार विश्लेषकहरुले सुनको भाउमा अझ बढोत्तरी हुने दाबी गरेका छन् । इयूबाट बेलायत बाहिरिने जनादेशसँगै सुनमा आएको चमात्कारिक बढोत्तरीले लगानीकर्ता यसतर्फ आकर्षित हुने र आन्तरिक रुपमा सुनको अधिक माग भई भाउ अझ माथि पुग्ने अनुमान गरिएको छ । 

सुनसँगै चाँदीको मूल्यमा समेत भारि बढोत्तरी भएको छ । शुक्रबार चाँदी पनि तोलाको ८ सय २० रुपैयाँमा किनबेच हुन थालेको छ । बिहीबार चाँदी तोलाको ७ सय ९० मा कारोबार भएको थियो ।