इलाम। फाकफोकथुम गाउँपालिकाका–१ मा अर्को चिया उद्योग सञ्चालनमा आउने भएको छ। उन्नति समावेशी परियोजनाको सहयोगमा ६ करोड रुपैयाँ लगानीमा सिद्धदेवी टिस्टेट कम्पनी प्राइभेट लिमिटेडले चिया प्रशोधन गर्ने कारखाना निर्माण सुरु गरेको हो।
आउँदो असोज महिनादेखि कारखानाबाट हरियो पत्ति प्रशोधन गर्ने लक्ष्य रहेको प्रबन्धक लोचन खत्रीले जानकारी दिए। कारखानाबाट दैनिक ५०० किलो शुद्ध अग्र्यानिक चिया उत्पादन हुने अपेक्षा गरिएको छ। कारखानामा १०० जना कामदार रहने कम्पनीले जनाएको छ।
विसं २०४८ देखि यो क्षेत्रमा विभिन्नस्थानबाट बिरुवा संकलन गरी चियाखेती सुरुवात गरेका थिए। हाल धेरैजसो आफ्नै बगानको बेर्ना उत्पादन हुने र अपुग बिरुवा इलाम पानीटार बगानबाट ल्याउने गरिएको म्यानेजर खत्रीले बताए।
फाकफोकमा तक्दा, बेनेकबोन, गुप्ती, चाइनिज चियाका बिरुवा लगाइएको छ। यो बगानले कञ्चनजंघा टिस्टेट प्रालि पाँचथरलाई हरियो चियापत्ती बिक्री गर्दै आएको थियो। आगामी दिनमा यस बगानबाट उत्पादित चियालाई राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँग समन्वय गरी अग्र्यानिक परीक्षणपछि जर्मनी, अमेरिका, जापानलगायत मुलुकमा बिक्रीका लागि पहल गरिने उनको भनाइ छ।
एक हजार २०० रोपनी क्षेत्रफलमा रहेको चिया बगानको केही ओसिलो ठाउँमा अलैँचीसमेत लगाइएको छ। सडक वरिपरि सल्लो तथा बगानको छेउमा अर्गेली लगाइएको छ। सीमावर्ती पाँचथरको फाल्गुनन्द ४ कृषक चन्द्रकुमार नेम्वाङले निजी लगानीमा ४५ रोपनी क्षेत्रफलमा चिया लगाएका छन्। उनले यहाँबाट अग्र्यानिक चिया उत्पादन गरी विदेश निर्यात गर्दै आएका छन्। यसअघि ग्रामीण क्षेत्रमा कारखाना नहुँदा किसानले हरियो पत्ती उत्पादनमा घाटा व्यहोर्दै आएका थिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19