– अर्जुन तिमिल्सिना
काठमाण्डौ । अघिल्लो साता ५ कारोबार दिनमा सेयर बजार १ दिनमात्रै बढेको भने ४ दिन घटेको थियो। यो साताको सुरुआती दुई कारोबार दिनमा पनि बजारमा गिरावट आएको छ। साताको पहिलो दिन आइतबार ३० अंकले ओरालो लागेको बजार सोमबार पनि करिब १५ अंकले घटेको छ।
क्यान्डल स्टिकअन्तर्गत विगत ३ दिनको कारोबार हेर्दा क्यान्डलहरु विस्तारै छोटा हुँदै गएको अर्थात घट्ने क्रम घट्दै गएको देखिन्छ। तर, अन्य अल्पकालीन सूचकहरुले बजारमा बिक्रीचाप बढ्दै गएको देखाउँछन्।
आज हामीले विभिन्न अल्पकालीन तथा दीर्घकालीन औजारहरुमार्फत बजारको व्याख्या र विश्लेषण गरेको छौँ।
इलिअट वेभका आधारमा
यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।
इलिअट वेभअन्तर्गत बजारको अवस्थालाई नियाल्नुपर्दा पनि विभिन्न दुई विकल्पलाई मुख्य गरी अगाडि ल्याउने गरिन्छ। पहिलो सम्भावना यदि बजार अहिले चल्दै आएको २५०० आसपासबाटै फर्किन्छ र यसले २५८० को प्रतिरोधलाई ब्रेक गरेर माथि जान्छ भने त्यो इलिअट वेभको माइनर डिग्रीको तेस्रो वेभ हुन सक्छ। जुन भनेको वेभ १ अघिल्लोपटक बनाएको २९८० मा सिकिएको मान्न सकिन्छ। वेभ २ हालको करेक्सन २५०० आसपासमा नै सकिन सक्छ र वेभ ३ लगभग ३३०० सम्म पुगेर सकिन सक्छ। वेभ ४ मा पुनः करेक्सन भएर ३१०० आसपास र वेभ ५ मा बढोत्तरीका साथ ३८०० पुग्न सक्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
वैकल्पिक विश्लेषणका आधारमा
इलिअट वेभमा यदि पहिलो विकल्प कमजोर बन्दै जान्छ भने दोस्रो विकल्पको सम्भावना खोजिन्छ। बजारलाई सन् २०१९ को नोभेम्बर १५ देखि हालसम्मको अवस्थालाई नियाल्दा यदि बजारले हालको बलियो प्रतिरोध २५८० लाई ब्रेक गरेर माथि जाँदैन र बजार क्रमशः २५०० भन्दा तल जान्छ भने दोस्रो विकल्प मजबुत हुँदै गएको बुझिन्छ। त्यो भनेको वेभ १ मा करेक्सन भएर लगभग २२५० सम्म आउन सक्छ भने वेभ २ मा बढेर २४४४ सम्म र वेभ ३ मा पुनः करेक्सन भएर २०६० सम्म र वेभ ५ मा बजार करेक्सन भएर लगभग १९४० सम्म आउन सक्छ। यो भनेको पछिल्लोपटकको बढोत्तरीको विन्दु ११०० देखि ३२०० सम्मको विन्दुलाई फिवोनासी रिट्रेसमेन्टमा हेर्दा ०.६१ प्रतिशत हुन आउँछ। यदि बजारले २५८० को प्रतिरोधलाई ब्रेक गर्न सक्दैन भने अबको बजार करेक्सन हुँदै लगभग २००० आसपाससम्म पनि आउन सक्ने देखिन्छ। (जुन तस्बिरमा हेर्न सकिन्छ)
एमएसीडी लाइनका आधारमा
एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रसओभर र माथिबाट काट्छ भने बियरिस क्रसओभर हुन्छ। यो लाइनअन्तर्गत भन्नुपर्दा एमएसीडी लाइनले सिग्नल लाइनलाई गत २८ मार्चमा माथिबाट काटेको देखिन्छ (हेर्नुहोस् छोटो रातो एरो)। हिस्टोग्राम नेगेटिभ र क्रमशः लामा–लामा बन्दै गएका छन्। यो आधारमा बजारमा बिक्रीचाप परेको अनुमान लगाउन सकिन्छ।
बोलिंगर ब्यान्डका आधारमा
यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो।
बजारलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले केही समय पहिला मध्य ब्यान्डमा प्रतिरोध गरेर तल झरेको छ। यसले तल्लो ब्यान्डलाई छुन कोसिस गरेको देखिन्छ।
आरएसआईका आधारमा
आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभरबट जोन भनेर छुट्याइन्छ। यसअन्तर्गत हालको बजारको आरएसआई ३३ रहेको छ। जसको अर्थ हुन्छ ओभर सोल्ड जोनको नजिक रहेको छ। अघिल्लोपटक यो विन्दु ७३.९७ को तहमा पुगेपछि करेक्सन आएको थियो। बजारको न्यून आरएसआई २७.८२ मा आउँदा अघिल्लोपटक बजारमा बुलिस यात्रा तय भएको थियो। हाल बजार ओभर सोल्ड जोन नजिक रहेको छ।
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट : २५०७
घटेमा सपोर्ट
निष्कर्ष
सेयर बजारमा अल्पकालीन औजारले बजार केही कम्मजोर बन्दै गएको देखिन्छ। कारोबार र भोलुम पनि विस्तारै घट्दै गएको देखिन्छ। प्राविधिक रुपमा एमएसीडीमा बियरिस क्रसओभर, बोलिंगर ब्यान्डमा पनि तल्लो विन्दुलाई छुन थालेको देखिन्छ। यसले बजारमा केही बिक्रीकर्ता हावी बन्दै गएको बुझिन्छ। क्यान्डल स्टिकले भने विस्तारै घट्ने क्रम रोकिएको बुझाउँछ।
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago