काठमाण्डौ । इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने म्याद लम्बिएको छ। 

कम्पनीले गत भदौ ७ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओको निष्कासन बन्द छिटोमा आज भदौ २१ गते बैंकिङ समयपछि हुने भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेकोले यो आईपीओमा भदौ २८ गतेसम्म बिक्री खुला गरिएको धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। 

कम्पनीले १०० अंकित दरका कुल ६ लाख २० हजार कित्ता आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओमा आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीयले खरिद आवेदन दिन सक्नेछन्। 

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। आवेदन एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट दिन सकिनेछ। 

यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत साउन ९ गते निष्कासन अनुमति दिएको थियो। स्थानीयलाई आईपीओ बिक्री गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ। 

यो कम्पनीले भोजपुरको पिखुवा खोलामा ५ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ।